२०७४ को निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटमात्रै जितेको थियो। अहिले गठबन्धन गरेर हामीले प्रत्यक्षतर्फ नै ५७ सिट जित्छौं भन्ने हामीले अनुमान गरेका छौं। यो दोब्बरभन्दा पनि ज्यादा ठूलो उपलब्धी हो। त्यतिमात्रै होइन हामीले गठबन्धनलाई बहुमत दिलाउँछौं, गठबन्धनको बहुमत हुन्छ भन्ने मान्यता राखेरै अगाडि बढी रहेका छौं।
त्यसकारण जस्तो माओवादी र एमालेको गठबन्धनका बेला दुबै एकै विचार समूहबाट आएका पार्टी र भविश्यमा पार्टी एकता गर्ने कुराको सन्देशले भोट हस्तान्तरण ज्यादा सरल किसिमले भएको थियो।
यो पटक हामी फरक–फरक विचार बोकेका राजनीतिक पृष्ठभूमिबाट आएका कारणले त्यही तहमा भोट हस्तान्तरण हुन नकसे पनि हामीले उपलब्धीका दृष्टकोणले गठबन्धनको बहुमत प्राप्त गर्नु भनेको उल्लेखनीय उपलब्धी नै मान्नुपर्छ।
भोट ट्रान्सफर भएको छ तर जुन तहमा हुनुपथ्र्यो त्यो तहमा माओवादीको पनि ट्रान्सफर गर्न सकेनौं। कांग्रेसको भोट कांग्रेसलाई नै पनि कतिपय ठाउँमा ट्रान्सफर हुन सकेन। कांग्रेसकै मान्छेहरुको पनि असहयोग रहेको हामीसँग उदाहरण छ। माओवादीको भोट आउने कुरा, समाजवादी (एकीकृत समाजवादी) या अन्य पार्टीको भोट आउने कुरा जटिल नै थियो।
अहिले मुलुकको अवस्था चुनौतीपूर्ण छ। गठबन्धनका दलहरुलाई एकठाउँमा राख्नुपर्ने छ। गठबन्धन बाहिरका दलहरुलाई पनि प्रजातान्त्रिक संस्कृति अनुरुप विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसका लागि अनुभवी नेतृत्वको खाँचो छ।
अहिले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हाम्रो पार्टीको सभापति पनि हुनुहुन्छ। अरुभन्दा उहाँले ज्याद आत्मविश्वासका साथ सरकार सञ्चालन गर्न सक्नुहुन्छ। यसकारण पनि गठबन्धनबाट सरकारको नेतृत्व नेपाली कांग्रेसले नै गर्छ।
कांग्रेसभित्र धेरैले दलको नेताका लागि दाबा गरिराख्नुभएको छ। त्यसमा युवा साथीहरु पनि हुनुहुन्छ। त्यसलाई हामीले अन्यथा मानिहाल्नुपर्ने कारण त छैन। तर, परिश्रम र पर्खेर प्राप्त भएको फल नै मीठो हुन्छ। अहिले मुलुकलाई अनुभवी नेतृत्वको खाँचो छ। यसमा पार्टी सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र हुनुहुन्छ।
हामी संसदीय व्यवस्थालाई मान्छौं। हामीले प्रधानमन्त्रीको उम्मेदवार डिक्लियर गरेर गएको निर्वाचन लडेको थिएनौं। स्वाभाविक रुपमा संसदीय दलले दलको नेता चयन गर्ने छ। त्यसमा शेरबहादुर देउवाकै नाममा सर्वसम्मति हुनेमा म विश्वस्त छु। उहाँ नै भावी प्रधानमन्त्री हो।
(कुराकानीमा आधारित)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।