काठमाडौं - सोमबार साँझ डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सामाजिक सञ्जालमा आफूलाई प्रचारमा रोक लगाइएको स्टाटस लेखे ।
‘मलाई जोगाइदिनुस् । जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन। मलाई रोकेको छ,’ उनले यस्तो लेखेपछि सर्वत्र चासो उत्पन्न भयो ।
उम्मेदवारले नै सामाजिक सञ्जालमा लेखेपछि धेरैले विश्वास गरेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गालीगलौजमा उत्रिए । निर्वाचन प्रचारकै क्रममा यस्तो हुँदा विपक्षी उम्मेदवार विवादमा पर्नु स्वाभाविक हो ।
ढकाल पनि यसरी नै देशको ध्यान खिच्न चाहन्थे । बाहिरी जिल्ला घर भएका उनी डडेल्धुरा गएर कांग्रेस सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका छन्। भलै उनले जितुन् कि नजितुन् एक खाले स्वतन्त्रहरू जसरी पनि ढकालको प्रचारप्रसारमा लागिरहेका छन् ।
ढकालले आफूलाई प्रचार प्रसारमा प्रहरीले रोक्यो भनेर सामाजिक सञ्जालमा ठेलेपछि धेरैको ध्यान तान्यो । देउवाविरुद्ध सामाजिक सञ्जाल रंगीन थाले। तर, केही घन्टाभित्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विज्ञप्ति जारी गर्दै ढकाललाई माइकिङ गर्न नरोकिएको मात्र होइन, उम्मेदवारको सुरक्षामा आफ्नो ध्यानाकर्षण भएको जनायो ।
जिल्ला प्रहरी कार्यालयले नै विज्ञप्ति निकालेपछि तत्काल ढकालले देउवालाई बदनाम गर्न मात्र यस्तो फण्डा निकालेको पुष्टि भयो । जानकारहरूका अनुसार देउवा गृहजिल्ला पुगेपछि विभिन्न ठाउँमा चुनावी सभामा सहभागी भएका थिए ।
कांग्रेसले आयोजना गरेको चुनावी सभाको छेउछाउ पुगेर ढकालले माइकिङ गरेका रहेछन् । त्यही बेला उनको प्रहरीसँग भनाभन परेको भिडियोसमेत सार्वजनिक भएको छ ।
अर्कै पार्टीले आयोजना गरेको चुनावी सभामा भोट माग्न जानु उचित हुन्न । तर, ढकालले यस्तो हर्कत गरेको र प्रहरीले सभाको छेउछाउ माइकिङ नगर्न भनेको पाइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका देउवाबारे केही सामाजिक सञ्जालमा लेखेमा त्यसबाट चर्चा पाइनेमा उनी ढुक्क थिए । सोही कारण आफूलाई प्रचारमा रोक लगाइएको भनेर उनले लेखेको बताउन थालिएको छ ।
तर, डडेल्धुरामा देउवाप्रति देखिएको समर्थन देखेर ढकाल अत्तालिएका छन् । त्यही भएर उनले यस्तो फन्डा निकालेको हुन सक्ने एक कांग्रेस मतदाताले तर्क गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।