काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लिएर एमाले अध्यक्ष केपी ओली निकै अत्तालिएका छन् । पाँचदलीय गठबन्धन मोर्चा बनाएर चुनावमा होमिने निश्चित भएपछि ओलीमा तीव्र छटपटी बढेको हो । कांग्रेस, माओवादी, एकीकृत समाजवादीको मात्र होइन, स्वतन्त्र उम्मेदवारले पनि ओलीलाई नै टार्गेट राखेर झापा ५ मा उम्मेदवारी दिने घोषणा गरेपछि उनको निदहराम भएको छ ।
चौतर्फी घेराबन्दीमा परेको महसुस गरेपछि ओली एक महिनामै तीनपटक गृहजिल्ला झापा पुगेका छन् । ओलीले मतदाता नामावली भक्तपुरमा सारे पनि चुनाव भने झापा ५ बाट लड्दै छन् । अघिल्लो निर्वाचनमा माओवादी र राप्रपासँग तालमेल गरेर जितेका ओलीलाई यसपटक त्यति सहज भने छैन । आफ्ने पार्टी विभाजन भई एकीकृत समाजवादी बनेको, माओवादीले जसरी पनि ओली हराउ रणनीति अख्तियार गरेको, स्वतन्त्र बुद्धिजीवी पनि आफूलाई हराउने अभियानमा लागेको देखेपछि अबको तीन महिना ओलीले झापालाई नै केन्द्रविन्दु बनाउने देखिएको छ ।
साउन ११ गते झापा पुगेका ओली चार दिन आन्तरिक भेटघाट र केही सार्वजनिक कार्यक्रममा व्यस्त रहेका थिए । त्यसपछि भदौ २ गते उनी झापागएर तीन दिन यहाँ बसेका थिए । १५ दिनअघि कार्यकर्ता भेटघाट र केही सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएका ओली बिहीबार साँझ पुनः झापा पुगे । झापा क्षेत्र नम्बर ५ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री ओली केही सार्वजनिक कार्यक्रम र आन्तरिक भेटघाटमा व्यस्त रहने एमाले झापाले जनाएको छ । उनी शनिबार काठमाडौं फर्कनेछन् । यसपटक उनी पूर्वी मोरङ र झापाको गौरीगन्जमा शुक्रबार हुने कार्यक्रममा सहभागी हुन झापा गएका हुन् ।
स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा आएको परिणाम सन्तोषजनक नभएपछि ओली निर्वाचन क्षेत्रकेन्द्रित कार्यक्रममा व्यस्त छन् । उनको निर्वाचन क्षेत्रमा चारवटा स्थानीय तह छन् । जसमध्ये एउटामा मात्र एमालेले प्रमुखमा निर्वाचन जितेको छ । विगतमा जित हासिल गरेको दमक नगरपालिका र कमल गाउँपालिका यसपटक भने एमालेले गुमाएको छ । निर्वाचन क्षेत्रकै सबैभन्दा ठूलो पालिका रहेको दमक ओलीको गृहनगर पनि हो । दमकमै एमाले हारेको छ । स्थानीय तहको निर्वाचनमा दमकमा एमालेले प्रमुख–उपप्रमुख गुमाउनुले एमालेलाई धक्का लागेको विश्लेषण हुने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।