सुर्खेत । कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन्। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष आइतबार राजीनामा दिएका हुन्।
शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन्।
मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी केन्द्र संसदीय दलका सचेतक कृष्णा शाह र प्रदेशसभा सदस्य रातो कामीलाई सिफारिस गरिएको छ। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।
उनीहरूलाई मुख्यमन्त्री शाहीले आजै मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। सुरुमा १३ जना सांसद भएको माओवादी केन्द्रसँग अहिले ११ जना मात्रै सांसद छन्। सुर्खेतबाट निर्वाचित ठम्मर विष्ट र दैलेखबाट निर्वाचित धर्मराज रेग्मीले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि उनीहरूले संसद् पद गुमाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।