काठमाडौं । भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन्। पाण्डे पाँच दिनका लागि नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
‘भारतीय प्रधानसेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहने निश्चित भएको छ। हामी स्वागतका लागि तयारी गर्दैछौँ’ सिलवालले भने। उनका अनुसार पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्बाट सैद्दान्तिक स्वीकृति मिलिसकेको छ।
पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन्। भ्रमणको औपचारिक घोषणा भइसकेको छैन। उनका अनुसार भ्रमणबाट दुई देशबीचको सैन्य सहकार्य मजबुत हुने अपेक्षा लिइएको छ।
नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछिन्। सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ।
सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए।
त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन्। त्यसैगरी त्यस अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।