काठमाडौं - समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले नेपाली राजनीतिमा ठूलो शून्यता महसुस गरिएको छ । क्यान्सर रोगका कारण गिरीको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनको निधनमा सिंगो देशले रिक्तता महसुस गरेको छ । २०१७ सालदेखि राजनीति सुरु गरेका गिरी बिपी कोइरालाका अनुयायी थिए । उनको बौद्धिकताप्रति नेपाली मात्र होइन, विदेशी पनि नतमस्तक थिए ।
प्रदिप गिरी यस्तो गुरु हो, जसले नेपाली कम्युनिस्टलाई मार्क्सवाद र नेपाली कांग्रेसलाई समाजवाद पढाउँथे । उनी यस्तो नक्षेत्र हो, जसलाई भारतीय नेताहरुले पनि उनको पाउमा नतमस्तक भएर ढोग्थे ।
प्रदिप गिरी यस्तो साधक हो, जसलाई समाजवाद, साम्यवाद, दर्शन, मार्क्स, लेलिन, अर्थशास्त्रदेखि समकालीन विश्व राजनीतिलाई रौंचिरा केलाएर घन्टौ बोल्न सक्थे ।
प्रदिप गिरी यस्तो आवाज हो, जो सधैं नेपाली कांग्रेसभित्र विपक्षीको रुपमा आफ्नो आवाज घन्काइरहे । देश र जनताका लागि विद्रोहको आगो ओकली रहे । खबरदारी गर्दै रहे ।
एउटा सम्पन्न परिवारमा जन्मेर पनि उनले सामान्य जीवन बिताए । अरुलाई अहिंसा, सादगीपूर्ण जीवन बिताउन सिकाए । उनी गान्धीवादी थिए र उनको जीवनशैली त्यस्तै थियो पनि ।
एक थान जिन्दगी उनले सानदार रूपमा बिताए । जोसँग हरेक कोही नतमस्तक हुन्थ्यो । उनी चेतना, ज्ञान, विद्रोह, दर्शनदेखि अदभूत विश्लेषण गर्ने क्षमताका कारण उनीलाई कसैले पनि शिर ठाडो गरेर हेर्न सक्दैन्थ्यो ।
उनलाई सुन्न यो देश, यो देशको पढेलेखेको समाज सधैं आतुर हुन्थ्यो । त्यही भएर प्रदीप गिरीलाई भूतो न भविष्य भएका नेता मानिएको हो । उनको महाप्रस्थान यो देशको असल राजनीतिका लागि, सबै खाले तह र तप्काका लागि निकै ठूलो र अपूरणीय क्षति हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत हरेक दलका शीर्ष नेताले प्रदीप गिरीको निधनले बौद्धिकता भएका नेताको रिक्तता महसुस गरेको बताएका छन् ।
आफ्नै पार्टीका सभापतिदेखि विपक्षी दलका अध्यक्षहरूलाई प्रतिनिधिसभामै निर्भीक भएर उनीहरूको आलोचना गर्ने एक मात्र नेता प्रदीप गिरी थिए । उनको कमीको महसुस अब नेपालको प्रतिनिधिसभाले सधैं महसुस गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।