काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७(०७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८.७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।
प्राधिकरणको आव २०७८–०७९को वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ।
‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो, विद्युत निर्यात वृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने।
आव २०७२–०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ। आव ०७३–०७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६–०७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो। तर, आव २०७७(०७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो।
विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए। प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो।
आव २०७८–०७९ मा भारततर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ। अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ।
आव २०७७–०७८मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८–०७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ। विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा आव २०७८–०७९ मा आन्तरिक विद्युत खपत २१।२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ।
प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ। रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ। प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ। कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भइ खुद निर्यात सुरु हुने बताए। आव २०७८(०७९मा विद्युत पिक डिमाण्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ। विद्युत प्रयोग गर्ने ग्राहकको संख्या सामुदायिकसहित ५३ लाख पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।