काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनमा यसपटक बुढा नेता हराउ अभियान सुरु भइसकेको छ । जसमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि पर्छन् ।
सात वर्षमा पाँचवटा पार्टी चहारिसकेका बाबुरामलाई यसपटक निर्वाचन जित्न फलामको च्यूरा सावित हुने देखिएको छ । बाबुरामले सधैं गोरखा २ बाट चुनाव जित्दै आएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको मतमा चुनाव जितेका बाबुराम सांसद भएदेखि कांग्रेसको खोइरो खन्न लागे ।
जब चुनाव आउन थाल्यो उनी कांग्रेससँग लहसिन आइपुगेका छन् । गोरखा २ मा माओवादी र कांग्रेसको झन्डै बराबरी मत छ । क्षेत्र नम्बर २ मा पर्ने पालिकाभित्रका वडाहरूमा स्थानीय चुनावमा आएको मत हेर्दा माओवादी केही अगाडि देखिन्छ।
यो क्षेत्रमा माओवादीका वडाध्यक्ष उम्मेदवारहरूले २२ हजार दुई सय ५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवारले २१ हजार एक सय ३६ मत पाएका छन्।
यहाँ एमालेलाई सात हजार नौ सय २६ र जसपाले सात हजार पाँच सय चार मत पाएका थिए । यहाँ जति मत जसपालाई आएको छ, त्यो बाबुरामनिकटको मत हो। यही मतलाई आधार बनाएर बाबुराम चुनाव लड्न खोजिरहेका छन् ।
जबकि क्षेत्र नम्बर २ मा यसपालि नेपाली कांग्रेसले पनि दाबी गर्दैछ। सधैँ क्षेत्र नम्बर २ अरू पार्टीलाई छाडेको भन्दै कार्यकर्तामा असन्तुष्टि देखिएको कांग्रेस नेताहरू बताउँछन्।
केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, अब्दुल सतार, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी क्षेत्र नम्बर २ मा उठ्ने तयारीमा छन्। क्षेत्र नम्बर २ मा माओवादीका नेताहरू हितराज पाण्डे, चुडामणि खड्का, अमर तमुलगायत पनि उम्मेदवार हुने तयारीमा छन्। नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा उम्मेदवार बन्न खोजिरहेका छन् ।
बाबुराम भट्टराईले हालै नयाँ पार्टी गठन गरेका छन्। नेपाल समाजवादी पार्टीबाट उनी गोरखा २ मा चुनाव लड्ने तयारीमा छन्। सत्ता गठबन्धनमै रहेर गोरखा २ मा चुनाव उठ्ने तयारी उनको छ।
बाबुराम पनि सत्ता गठबन्धनमै आए गोरखा २ मा उम्मेदवार तय गर्न दलहरूलाई झन् सकस पर्नेछ। २०७४ सालमा वाम गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुन नपाएपछि तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई नेपाली कांग्रेससँग गठबन्धन गरी उम्मेदवार बनेका थिए।
भट्टराईले त्यसबेला वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई सात हजार भन्दा बढी मतान्तरले हराएका थिए।
२०७४ मा गोरखा क्षेत्र नम्बर १ मा नयाँ शक्तिले नेपाली कांग्रेसलाई सघाएको थियो। चीनकाजी श्रेष्ठ उम्मेदवार थिए, तर उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिराज अधिकारीसँग पराजित भएका थिए। यसपालि कांग्रेससहित सत्ता गठबन्धनका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन्।
गोरखामा कुन क्षेत्र कसले लिने भन्ने टुंगो लगाउन सकस पर्ने देखिन्छ। माओवादीले वैशाखमा भएको स्थानीय चुनावमा ११ मध्ये नौ स्थानीय तह प्रमुख जितेको छ भने कांग्रेस दुई स्थानीय तह प्रमुखमा खुम्चिएको छ। तर लोकप्रिय मतमा क्षेत्र नम्बर १ मा कांग्रेस नै अघि देखिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।