काठमाडौं - बजेट निर्माण गर्दा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सामेल गराएका जनार्दन शर्मा फेरि अर्थमन्त्री नियुक्त भएपछि व्यापक आलोचना भइरहेको छ ।
राजनीति कतिसम्म सेटिङमा चल्ने रहेछ र संसदीय व्यवस्थाकै हुर्मत लिँदो रहेछ भन्दै प्रमुख दलका शीर्ष नेताको चौतर्फी आलोचना भइरहेको हो ।
खासगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुल्लडबाज प्रवृत्ति राजनीतिमा भित्र्याएको भन्दै उनीहरूको आलोचना भइरहेको हो ।
संगीन आरोप लागेर मन्त्री पदबाट राजीनामा दिएर सेटिङ गरेर चोख्याएर फेरि तिनै व्यक्तिलाई मन्त्री नियुक्त गरेर लोकतन्त्रको नै हुर्मत लिइएको छ । यसमा प्रमुख प्रतिपक्ष एमालेको पनि संलग्नता देखिएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थात् एम अधिकारी प्रकरणमा अर्थमन्त्री साटफेर गरेको आशंका पुष्टि हुँदै गएको छ । तर पनि एमालेले शर्माविरुद्ध संसद् र सडकमा विरोध जारी राख्ने घोषणा गरेको छ ।
जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्दा त्यसको मूल्य प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई निकै महँगो पर्ने भविष्यवाणी गरिएको छ ।
देउवाकै ज्योतिष सुरेशचन्द्र रिजालले आइतबार राति सामाजिक सञ्जालमा अर्थमन्त्री नियुक्ति प्रकरणले जनार्दनलाई भन्दा देउवा र प्रचण्डलाई महँगो पर्ने स्टाटस सार्वजनिक गरेका छन् ।
देउवाले अहिलेसम्म कुनै काम गर्दा सबै ज्योतिषसँग सल्लाह गरेर मात्रै गर्दै आएका छन् । सोहीअनुसार त्यसको परिणाम कस्तो हुन्छ भनेर रिजालले पनि सार्वजनिक गर्दै आएका थिए । तर, यसपटक रिजालले देउवा र प्रचण्डविरुद्ध नै भविष्यवाणी गरेका छन् ।
उनले लेखेका छन्, ‘अर्थमन्त्री जनार्दन शर्मा निर्दोष छन् भन्ने पुष्टि हुनु पार्टी र उहाँ स्वयंका लागि भाग्यमा चन्द्रमा दाहिने हुनु हो । शर्माको दाहिने चन्द्रमाको प्रभाव भने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई योगको विपरीत प्रभाव पर्ने प्रबल सम्भावना रहेको छ। दाहिने चन्द्र हुनु नै शक्तिशाली राजयोग हो ।’ ज्योतिषी रिजालले संकेत गरेको आगामी निर्वाचनमा देउवा र प्रचण्ड दुवैले जित्दैनन् भन्ने नै हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।