बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देउवा सरकारले गरेको यस्तो निर्णयले देशैभरी उत्साह, रेल सेवामा छलाङ 

देउवा सरकारले गरेको यस्तो निर्णयले देशैभरी उत्साह, रेल सेवामा छलाङ 

  • मिडिया डबली
  • मंगलवार, श्रावण १० २०७९

  • 4.3K
    SHARES

  • देउवा सरकारले गरेको यस्तो निर्णयले देशैभरी उत्साह, रेल सेवामा छलाङ 

    महोत्तरी । जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालित रेल सेवा थप विस्तारको कुराले महोत्तरीमा उत्साह छाएको छ । नेपाल रेल्वे कम्पनीले अब एक महिनाभित्रै सेवा महोत्तरीको भङ्गाहासम्म विस्तार गर्ने बताएसँगै यस भेगका सर्वसाधारणमा खुसी छाएको हो ।

    हालजयनगर–जनकपुर–कुर्था खण्डको ३५ किलोमिटरमा सञ्चालित रेल सेवा अब थप १७ किमीमा विस्तार गरिने कम्पनीले तयारी गरेको हो ।

    धनुषाको अन्तिम स्टेशन कुर्थाबाट अब रेल सेवा महोत्तरी प्रवेश गरेर चाँडै भङ्गाहासम्म विस्तार गरिने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएपछि यहाँका लोहारपट्टी, बलवा, भङ्गाहा र बर्दिबास नगरपालिका एवं पिपरा गाउँपालिकाका दर्जनौँ बस्तीमा रेल चढ्न पाइने कुराले उत्साह छाएको हो ।

    ‘अब त भङ्गाहाको बिजलपुरा स्टेशनसम्म चाँडै रेल चल्छ रे’, बर्दिबास नगरपालिका–७ प्रेमनगरका पाका सामाजिक कार्यकर्ता ७० वर्षीय रामेश्वर महतोले भने, ‘अब जनकपुर हुँदै भारतीय बजार जयनगरसम्म हाम्रो दैनिक आवतजावतमा सहजता हुनेछ ।’

    बर्दिबास–७ को प्रेमनगर, वडा नं ९, १२ र १३ का क्रमशः पशुपतिनगर, जुडीटोल र  भेडियारीटोल बस्ती रेल्वेको बिजलपुरा (भङ्गाहा) स्टेशनबाट टाँसिएका बस्ती हुन् ।

    त्यसैगरी लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका एवं पिपरा गाउँपालिकाका ४० भन्दा बढी बस्ती रेल्वेका कुर्था–बिजलपुरा (भङ्गाहा) खण्डका स्टेशनहरू पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र भङ्गाहा (बिजलपुरा) सँग जोडिएका छन् ।

    कुर्था–बिजलपुरा खण्ड रेल सेवा विस्तार हुनासाथ दुग्ध उत्पादन र तरकारी उत्पादनमा उर्वर मानिने बलवा, भङ्गाहा र लोहारपट्टी नगर क्षेत्रका किसान आफ्ना उत्पादनले तत्काल जनकपुरमात्र नभएर भारतीय बजार पनि पाउने आशले उत्साहित भएका हुन् ।

    भर्खरै बिजलपुरासम्म रेल सेवा विस्तारका लागि महाप्रबन्धक झाको नेतृत्वमा सुरक्षा र प्रशासनिक निकायका प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण अवलोकन गरेपछि अबचाहिँ रेल चढ्न पाइने भयो भन्ने यस भेगका सर्वसाधारणमा आस जागेको छ ।

    वर्षौँदेखि रोकिएको रेल सेवा सञ्चालनको सपना अब पूरा हुने आस  पलाएको भङ्गाहा–१ कविलासाका रामशङ्कर मण्डल बताउँछन् । अब आफ्ना  कृषि उपज सोझै जनकपुर र भारतीय बजार जयनगरसम्म तुरून्तै पुर्याउन सकिनेमा मण्डलले खुसी व्यक्त गरे ।

    जयनगर–बर्दिबास रेल्वे विस्तार परियोजनाको पहिलो खण्ड जयनगर–कुर्थाको ३५ किलोमिटर दूरीमा गत चैतमै सेवा सञ्चालन भइसकेको छ । परियोजनाको दोस्रो खण्ड कुर्था–भङ्गाहामा सेवा सञ्चालनका लागि सबै भौतिक संरचना तयार रहेका हुँदा अब साउनभित्रै रेल चलाइने कम्पनीका महाप्रबन्धक झाको प्रतिबद्धता छ ।

    ‘अब दोस्रो खण्डमा रेल सेवा सञ्चालनमा भौतिक तयारी पूर्ण छ, बस् संरचना तयार गर्ने निर्माण कम्पनीले हामीलाई भौतिक संरचना हस्तान्तरण गर्न बाँकी छ’, महाप्रबन्धक झाले भने, ‘हस्तान्तरण प्रक्रियाका काम अघि बढेका छन्, अब साउनभित्रै दोस्रो खण्डमा सेवा सञ्चालन गर्न सकिन्छ ।’

    दोस्रो खण्डमा रेल चल्न थालेपछि यो परियोजनाभित्रको ५२ किमी दूरीमा सेवा पुग्नेछ । बिजलपुराबाट बर्दिबाससम्मको तेस्रो खण्डको १८ किमी दूरीमा पनि दोस्रो खण्डमा सेवा सञ्चालन भएलगत्तै निर्माणकार्य अघि बढ्ने महाप्रबन्धक झाको भनाइ छ ।

    अहिलेसम्मको कामको प्रगतिले यही साउन ३० गते (अगष्ट १५ तारिख) का दिन सेवा विस्तार गरिने तयारी रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतको इर्कन कम्पनीले निर्माण गरेको दोस्रो खण्डको संरचना सो पक्षले हस्तान्तरण गर्नासाथ सेवा विस्तारको मिति तय गरिने महाप्रबन्धक झाको भनाइ छ ।

    ‘अब परियोजनाको कामले गति लिएको हुँदा तेस्रो खण्ड (बिजलपुरा–बर्दिबास) को निर्माणकार्य पनि चाँडै सुरु गरिनेछ’, महाप्रबन्धक झाले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अब निर्माण कार्य अघि बढाउन अड्चन छैनन् ।’ यसअघि तेस्रो खण्डको जग्गा मुआब्जा समयमा नहुँदा निर्माण काम अघि बढ्न सकेको थिएन । ‘अब प्रस्तावित जग्गा रेल्वेको नक्सामा आइसकेको छ, पहिलेका जग्गाधनिले धमाधम मुवाब्जा लिइरहेका छन्, तेस्रो खण्डको काम छिट्टै सुरु हुन्छ’, उनले भने ।

    सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेशनल कम्पनीले सन् २०११ जनवरीदेखि निर्माणकार्य थालेको थियो ।

    तीन खण्डमा निर्माण काम गरिने तालिकाअनुसार पहिलो र दोस्रो खण्डको निर्माण कार्य सम्पन्न भएपछि अब तेस्रो खण्डको काम थालिने तयारी बढेको हो । गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा पहिलो खण्ड (जयनगर–जनकपुर–कुर्था) को  रेल सेवा सञ्चालनको  भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । त्यसयता जयनगर–जनकपुर–कुर्थासम्म दैनिक दुईपटक  रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा दूरी ५२ किलोमिटर हुनेछ ।

    भारत सरकारको रू सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सुुरू गरिएको हो । वि.सं १९९४ जुद्ध शम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग वि.स २०५८ को बर्खे भेलले  बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि सेवा जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो । पछि ब्रोडगेज रेल्वे विस्तारको काम थालिएपछि त्यो सेवा पनि रोकिएको थियो ।

    सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिइएको थियो । मुलुकको राजनीतिक उतारचढाव,  बाढी प्रकोप र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ । नेपालमा पहिलो रेल सेवा वि.स १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो ।

    नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको रेल विस्तार परियोजनासम्बन्धी सम्झौता भएर यो काम अघि बढेको हो । सम्झौतामा जग्गा नेपाल सरकारले उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण खर्च भारत सरकारले गर्ने सम्झौताअनुसार अहिलेसम्म ५२ किमी दूरीभित्र रेल्वे ट्र्याक, स्टेशन भवन, पुलपुलेसा, खानेपानी, विद्युत्लगायतका  सबै संरचना भारतले बनाएको हो ।

    अब तेस्रो खण्डमा पनि निर्माण काम भारतले गर्नेछ । यस परियोजनामा भारत सरकारले रू सात अर्ब २० करोड रकम सहयोग गर्ने सम्झौता भएको थियो । तालिकाअनुसारको अवधिभित्रै निर्माणकार्य सम्पन्न हुन नसक्दा पछिल्लो मूल्यवृद्धिले लागत बढाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend