काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटमा दुई पटक मन्त्री बनेका जनार्दन शर्मा दुई पटक नै मन्त्री छाड्दा निकै सकसपूर्ण अवस्थाबाट गुज्रिएका छन्। २०७४ जेठमा शर्मा देउवा क्याबिनेटको गृहमन्त्री बनेका थिए।
कांग्रेस–माओवादी गठबन्धनको सरकार चलिरहेकै समय राजनीतिक कोर्सले कोल्टे फेरेपछि देउवाले शर्मालाई गृहमन्त्रीबाट हटाएर बिनाविभागीय मन्त्री बनाएका थिए। २०७४ असोज १७ मा कांग्रेससँग संयुक्त सरकार चलाइरहेको माओवादीले रातारात एमालेसँग सुलह गर्न पुगेपछि देउवाले शर्मा लगायतका माओवादी मन्त्रीको जिम्मेवारी खोसेका थिए।
देउवाले असोज ३१ गते तत्कालीन सरकारमा रहेका माओवादीका सबै मन्त्रीलाई जिम्मेवारीबाट हटाएका थिए। देउवाले शर्मासँगै कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारुको जिम्मेवारी खोसिदिएका थिए। तर बिनाविभागीय मन्त्रीका रूपमा शर्माले देउवा क्याबिनेटमा तीन महिना बिताएका थिए।
आमनिर्वाचनपछि पुस २८ मा मात्रै देउवाले बिनाविभागीय मन्त्री बनाएका शर्मालगायत माओवादीका सबै मन्त्रीले राजीनामा दिएका थिए।
०७८ असार २९ गते ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै कांग्रेस सभापति देउवा प्रधानमन्त्री बने। सोही दिन शर्माले अर्थमन्त्रीको सपथ खाएका थिए। तर अर्थमन्त्रीको सपथ खाएको एक वर्ष पुग्नै लाग्दा शर्माले अर्को सकसपूर्ण वहिर्गमन बेहोरेका छन्। आर्थिक वर्ष २०७९–८० को बजेटमा शर्माले मन्त्रालयभित्रै अनधिकृत व्यक्तिको सहयोगमा करका दर हेरफेर गरेको आरोप लागेको थियो। सोही कारण शर्माले एकपटक मन्त्री पदबाट हात धुनु परेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।