काठमाडौं - जिल्लाको विकासमा समन्वय गर्ने निकाय समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित बढीमा नौ सदस्य निर्वाचित हुन्छन् । संविधानको धारा २२० (३) मा जिल्ला सभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समिति चयन गर्ने व्यवस्था गरेको छ ।
समितिको निर्वाचन स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र गरिसक्नुपर्छ । सोही कारण अहिले प्रमुख दलहरू जिसस निर्वाचनतर्फ केन्द्रित भएका छन् ।
जिल्ला समन्वय समिति गठनमा नगरपालिका र गाउँपालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मात्रै मतदाता हुन्छन् । जिसस निर्वाचनमा पनि पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्तारुढ गठबन्धनको मंगलबार बसेको बैठकले जिससमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । पाँचदलीय सत्ता गठबन्धनको बैठकले सोमबार एकल बहुमत पुर्याएको बाहेकका जिल्लामा मिलेरै जाने निर्णय गरेको छ ।
जसकारण फेरि पनि एमालेले बहुमत जिल्लामा जिसस गुमाउने निश्चित छ । स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यसपटक ११ जिल्लामा मात्रै बहुमत ल्याएको छ ।
कांग्रेसको १६ र माओवादी केन्द्रको चार जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा बराबरी मत आए गोला तानेर निर्णय लिनुपर्ने हुन्छ । त्यसबाहेकका ४७ जिल्लामा गठबन्धनकै उम्मेदवार विजयी हुने भएका छन् । कांग्रेसले ओखलढुंगा, सुनसरी, सोलुखुम्बु, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, बागलुङ, बर्दिया, बाँके, अछाम, कञ्चनपुर, डडेलधुरा र डोटीमा एकल बहुमत ल्याएको छ ।
एमालेको झापा, मोरङ, धनकुटा, कास्की, मुस्ताङ, म्याग्दी, लमजुङ, पाल्पा, अर्घाखाँची, नवलपरासी पूर्व र बाजुरामा बहुमत छ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएकाले जनप्रतिनिधिको टुंगो लागेको छैन ।
खोटाङ, तेह्रथुम, काभ्रेपलाञ्चोक, सिन्धुपालञ्चोक, तनहुँ, जाजरकोट र जुम्लामा कांग्रेस एक्लैलाई जिल्ला समन्वय समितिको नेतृत्व लिन एक मत मात्रै पुग्दैन । मधेस प्रदेशका धनुषा र सर्लाहीमा कांग्रेसको बहुमत छ । अन्य ६ जिल्लामा गठबन्धन दलको वर्चस्व छ ।
लुम्बिनीको रूपन्देहीमा न एमालेको बहुमत पुग्छ न गठबन्धन दलको । त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र राप्रपाको मत निर्णायक छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।