काठमाडौं - देशव्यापी रूपमा नेपाली कांग्रेसको लोकप्रियताका कारण विपक्षी पार्टीका नेता कार्यकर्ता आत्तिएका छन् ।
पछिल्लो समय एमाले, माओवादी केन्द्रका कार्यकर्ता र समर्थक नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक रूपमा उत्रिएका छन् । रुकुममा दैनिकजसो माओवादी कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गरिरहेका छन् ।
यसैक्रममा आइतबार साँझ अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी भरतपुर–१२ मिलनचोकका अनिल परियारको हत्या गरेको छ । उनी कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए।
निर्वाचनका बेला भएको उनको हत्या सुनियोजित रहेको भन्दै चितवनका कांग्रेस नेता–कार्यकर्ता सोमबार बिहानैबाट विरोधमा उत्रिन लागेका छन्।
परियारको शव राखिएको भरतपुर अस्पतालमा कांग्रेस–नेता कार्यकर्ता भेला हुन सुरु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीका अनुसार आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो।
घटनामा संलग्न समूह पहिचान हुन सकेको छैन। स्थानीय कृष्णपुरको फुटबल मैदाननजिकै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई भरतपुर मेडिकल कलेज लगे पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
स्थानीय कांग्रेस नेता कार्यकर्ताले कम्युनिस्टहरूकै आक्रमणमा परी परियारको हत्या भएको आशंका गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।