काठमाडौं - पाँच वर्षका लागि ३५ हजार दुई सय २१ जनप्रतिनिधि छान्न उम्मेदवारी मनोनयनको दिनसम्म पनि नेपाली कांग्रेसले आफ्ना तर्फबाट सर्वसम्मत उम्मेदवार तय गर्न सकेको छैन ।
विगतमा पनि कांग्रेसबाट अन्तिम दिन मात्रै उम्मेदवार तय गर्ने परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबीच चार दिनअघि नै महानगरपालिका र उपमहानगरका मेयर र उपमेयर पदमा भागबन्डा लागेको हो ।
जसअनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरसहित तीन महानगर परेको छ । यस्तै, बुटवल, कलैया, धनगढी, नेपालगन्ज, तुल्सीपुर उपमहानगरपालिकाको प्रमुख पनि कांग्रेसको भागमा परेको छ ।
तर, आइतबार बिहानसम्म पनि कतै पनि उम्मेदवारको टुंगो लाग्न सकेको छैन । जसकारण देशभरका कांग्रेस नेता कार्यकर्ता निराश बनेका छन् ।
महानगर र उपमहानगरपालिकाको उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । सभापति एवंप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थाले पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भए पनि सहमति नभएको हो ।
आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । नेताहरूले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
सहमहामन्त्री जीवन परियारले सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेपछि उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । ‘छलफल भइरहेको छ, तर कुनै सहमति भएको छैन,’ उनले भने, ‘आजको बैठकले टुंगो लगाउने तयारी छ ।’
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए । कांग्रेसलाई समयमै स्थानीय तहका प्रमुख र उपप्रमुख छान्न गठबन्धन बाधक बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।