पोखरा - सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ ।
कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् ।
उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’
सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।