काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै छन् ।
आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वदेश फर्कनुअघि देउवाले भारत उत्तर प्रदेशको वाराणसीको भ्रमण गर्ने कार्यक्रम छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
शनिबार देउवाले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए ।
प्रधानमन्त्रीका रूपमा यो देउवाको पाँचौँ औपचारिक भारत भ्रमण हो । तथापि देउवाको भ्रमणलाई परम्परागत निरन्तरताभन्दा पनि फरक महत्व दिएको नेपाल–भारत सम्बन्धका जानकारहरू बताउँछन् ।
विमानस्थलदेखि देउवा र प्रतिनिधिमण्डल रहेको आईटीसी मौर्य होटलसम्म देउवाको तस्बिर अङ्कित स्वागत ब्यानर राखिएको थियो भने प्रधानमन्त्री देउवाको सवारी हुँदा पूरै सडक खाली गराइएको थियो । झन्डै चार वर्षपछि दिल्लीमा दुवै देशका प्रधानमन्त्री तहमा यसरी वार्ता भएको हो ।
२०१८ मार्चमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि दिल्लीले नेपालबाट उच्चस्तरको औपचारिक भ्रमणलाई आमन्त्रण गर्न खासै इच्छा देखाएको थिएन ।
नयाँ नक्सा प्रकरणपछि नेपालका प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । यो भ्रमणसँगै दुई देशबीच हार्दिक संवाद र सहकार्यको ढोका पूर्ववत् रूपमा खोलेको छ ।
दुई देशबीच अल्झिएका थुप्रै विषयको समाधानका लागि राजनीतिक र कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न यो भ्रमण सार्थक मानिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।