काठमाडौं - नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार दिल्लीको हैदराबाद हाउसमा हरियो झन्डा देखाएर रेल सेवाको भर्चुअल उद्घाटन गरेपछि आइतबारदेखि नेपाली रेलले नियमित यात्रु ओसार्ने भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगरमा चल्ने रेल सेवा उदघाटन गरेका थिए ।
डेढ वर्षदेखि थन्किएको नेपाली रेलले आइतबारदेखि नियमित यात्रु ओसार्न दुलहीझैँ सजाइएको रेल जनयनगरबाट जनकपुरका लागि छुटेको थियो ।
जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रेलको स्वागत गरेका थिए ।
उनीहरू जनकपुरबाट रेल चढेर कुर्थासम्म पुगेका थिए । जनकपुरधाममा रहेको रेल्वे स्टेसन पनि झकिझकाउ पारिएको थियो ।
स्टेसनमा भिड लागेका स्थानीयले खुसियालीमा ‘नेपाल–भारत मैत्री सम्बन्ध जिन्दावाद’को नारा लगाएका थिए । यसअघि पटक–पटक रेल सञ्चालनको मिति तोकिँदै आएकोमा कार्यान्वयन हुन सकेको थिएन ।
इनर्वा स्टेसनमा रोकिएको रेल सफाइ र सजावटका लागि शुक्रबार जयनगर रेल्वे स्टेसन पुर्याइएको थियो । जयनगर स्टेसनमा नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झा, सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सशस्त्र प्रहरी बल इनर्वा बिओपीका शम्भु कटुवाल सहभागी थिए ।
भारतका डिभिजन रेल म्यानेजर आलोक अग्रवाल, मध्य रेल्वे हाजिपुरका पूर्वजिएम अनुपम शर्मा, मधुवनी जिल्लाका डिएसएम अमित कुमार, एसपी डा. सत्य प्रकाश, एसएसपीका कमान्डेन्ट आइपी पनपै, एसडिओ बेबीकुमारीलगायत पदाधिकारी सहभागी थिए ।
अब आफ्नै देशमा रेल सञ्चालन हुने भएपछि मधेस प्रदेशमा खुसियाली छाएको छ । केही समयभित्रै पूर्व–पश्चिम रेलमार्ग पनि सञ्चालनमा आउने भएको छ । त्यसका लागि अहिले महोत्तरी, सर्लाही, रौतहट, बारामा रेलका लिक बिछ्याउने काम धमाधम भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।