काठमाडौं - यतिबेला स्थानीय तहको निर्वाचनमा सबै दलहरू जुटेका छन् । खानेपानी समिति, विद्यालय व्यवस्थापन समिति, विद्युत उपभोक्ता समितिलगायतमा हुने निर्वाचन पनि स्थानीय तहको निर्वाचनको रिहर्सलका रूपमा लिने गरिएको छ ।
त्यस्ता स्थानीय उपभोक्ता समितिका निर्वाचनले पनि स्थानीय स्तरमा कुन राजनीतिक दल कति बलियो छ भन्ने पुष्टि गर्छ । यस्तै गज्जबको दृश्य देखिएको छ बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा पर्ने एक विद्युत सहकारीको चुनाव ।
जुन निर्वाचनलाई एमालेले आफ्नो प्रतिष्ठाको रूपमा लिएको थियो । तर, चुनावमा कांग्रेसको प्यानल नै विजयी भएको छ । १६ हजार बढी मतदाता रहेको यो वडालाई एमालेले आफ्नो गढ दाबी गर्दै आएको थियो ।
बुटवलको स्थानीयदेखि प्रतिनिधिसभा निर्वाचनलाई यही वडाको जनमतले प्रभावित गर्दै आएको छ । यही वडाको करिब ६ हजार मतदाताको प्रतिनिधित्व गर्ने प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको दोस्रो अधिवेशनमा कांग्रेसका उम्मेदवार जितबहादुर मल्लको प्यानल सानदार विजयी भएको हो ।
मल्लको प्यानलले एमाले उम्मेदवार वीरबहादुर कुँवरको प्यानललाई पराजित गरेको हो । करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा कांग्रेसका मल्ल ५१४ मत ल्याएर विजयी भए ।
एमालेका कुँवरले ४७१ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित मल्ल दुई वर्षअघि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । उनी एमालेका पूर्व नगर उपाध्यक्ष थिए । उपाध्यक्षमा दुबै प्यानलका उम्मेदवारले समान ४८२ मत ल्याए ।
सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए । कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी हुँदा एमालेका कुलबहादुर रानाले ४६९ मत पाए ।
नौजनाकार्यसमिति सदस्य र लेखा समिति संयोजक र सदस्यसहित तीनजना पनि मल्ल प्यानलकै उम्मेदवारहरु विजयी भएका निर्वाचन समितिका प्रमुख अधिवक्ता महेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।