शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा गठबन्धनसहित चुनावमा जाने पक्षमा माहाेल बन्दै

कांग्रेसमा गठबन्धनसहित चुनावमा जाने पक्षमा माहाेल बन्दै

  • मिडिया डबली
  • आइतवार, चैत्र १३ २०७८

  • 5.3K
    SHARES

  • कांग्रेसमा गठबन्धनसहित चुनावमा जाने पक्षमा माहाेल बन्दै
    फाइल तस्वीर

    काठमाडाैं - नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ ।

    प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा छन् ।

    सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आएका छन् ।

    सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने डरले कांग्रेस गठबन्धनसहित चुनावमा जाने अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको छ ।

    विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेका उनी निकट नेता बताउँछन् ।

    नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक ठानेका छैनन् । कोइरालाले चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव पनि गरेका छन् ।

    केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताए । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।

    यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उनले बताए । तर अहिलेको राजनीतिक माहोल हेर्दा गठबन्धनसहित चुनावमा जाँदा राम्रो हुने उनको भनाइ छ ।

    ‘प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ । पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । सभापति देउवा, नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’ नेता रञ्जितले भने ।

    अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताए । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने बताए ।

    गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्ति गत धारणा आएका छन्, तर पार्टीकै औपचारिक निर्णय बैठकपछि आउने उनको भनाइ छ । अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा छिन् ।

    कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उनले नेतृत्वलाई आग्रह गरिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend