काठमाडौं - नेपालमा सात सय ५३ वटा स्थानीय तह छन् । तीमध्ये ११ उपमहानगरपालिका र ६ वटा महानगरपालिका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैको आँखा तिनै ६ वटा महानगरपालिमा गएको छ ।
०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगरपालिकाको मेयर जितेको थियो ।
नेपाली कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर जितेको थियो । माओवादी केन्द्रले भरतपुर र तत्कालीन संघीय समाजवादी पार्टीले वीरगन्ज महानगरपालिकाको मेयर जितेका थिए ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी अहिले एमाले प्रवेश गरिसकेका छन् । कांग्रेसले कसैसँग गठबन्धन नै नगरी ललितपुर र विरानगर महानगरपालिकाको मेयर जितेको थियो ।
एमालेले काठमाडौं र पोखरा महानगरपालिकाको मेयर राप्रपासँग तालमेल गरेर जितेको थियो । माओवादी केन्द्रकी रेणु दाहाल कांग्रेससँगको तालमेलका आधारमा भरतपुर महानगरपालिकामा विजयी भएकी थिइन् ।
यसपटक कांग्रेसले तालमेल गरे वा नगरे पनि थप दुईवटा महानगरपालिका जित्ने देखिएको छ । त्यसमा काठमाडौं, पोखरा र वीरगन्ज महानगरपालिकामध्ये हुने कांग्रेस नेताहरू बताउँछन् ।
गत निर्वाचनमा कांग्रेसले चर्चित व्यक्तिलाई नउठाएकैले काठमाडौंको मेयरमा पराजित हुनुपरेको थियो । तर, यसपटक भने कांग्रेसले लोकप्रिय नेतालाई काठमाडौंमा उठाउने तयारी गरेको छ ।
एमालेले भने वर्तमान मेयर विद्यासुन्दर शाक्यलाई नै दोहोर्याउने संकेत देखिएको छ । तर, अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
शाक्यले आफ्नो पाँच वर्षे कार्यकालमा घोषणापत्रमा उल्लेख भएको एउटा पनि नारा पूरा नगरेकाले त्यसको ठूलो धक्का एमालेले बेहोर्नुपर्ने निश्चित छ ।
त्यस्तै, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कुनै पनि परफरमेन्स देखाउन सकेनन् ।
हर्टहट्याक भएर लामो समयसम्म अस्पतालमा बस्नुपरेकाले पनि पोखरा महानगरपालिकामा एमालेको प्रभाव शून्यमा झरेको हो ।
यसपटक कांग्रेसले जित्ने सक्ने नेतालाई मात्र पोखराको मेयरमा टिकट दिने नीति बनाएको छ । वीरगन्ज र भरतपुर महानगरपालिकामा भने क्रमशः कञ्चन झा र दिनेश कोइरालाको चर्चा छ ।
दुवै कांग्रेसका चर्चित युवा नेता हुन् । यसपटक कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा पार्टीकै उम्मेदवार उठाउने तयारी गरेको छ । माओवादी केन्द्रसँग तालमेल भए पनि भरतपुरमा कांग्रेसले नछाड्ने बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।