काठमाडौं - निर्वाचनको माहोल सुरु भएसँगै नेताहरूबीच दलबदल पनि तीव्र चलिरहेको छ ।
एउटा पार्टीका सिनियर नेता भोलि अर्को कुन पार्टीमा प्रवेश गर्छ, कसैले पत्तो पाउँदैन । यसैक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं पूर्व ताप्लेजुङ जिल्ला इन्चार्ज भाष्कर काफ्ले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
एमालेले लोकतान्त्रिक मूल्यमान्यता त्यागेको र पार्टीभित्र केपी ओलीको अधिनायकवाद हाबी भएको भन्दै काफ्लेले एमाले त्यागेको घोषणा गरेका छन् ।
एमालेको हालै सम्पन्न महाधिवेशनमा काफ्लेले ओली पक्षलाई चुनौती दिएका थिए । पार्टीभित्र आन्तरिक एकताका लागि गरिएको प्रयत्न सफल नभएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको उनको भनाइ छ ।
एमाले विभाजनका बेला सनाखतमा अनुपस्थित भएर १० बुँदे पक्षधर बन्दै काफ्ले समाजवादीमा लागेका थिएनन् । एकीकृत समाजवादीले उनलाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिने निर्णय गरिसकेको छ ।
झापा क्षेत्र नम्बर २ का काफ्लेले आगामी निर्वाचनमा ओलीविरुद्ध चुनाव लड्ने घोषणासमेत गरेका छन् । ‘झापामा केपी ओली जुन क्षेत्रबाट चुनाव लडे पनि उनीविरुद्ध उभिने संकल्प गरेको छु’, काफ्लेले बताएका छन् ।
झापामा ओली बलिया देखिए पनि आफ्नै पार्टीका युवा नेताको यो चुनौतीले उनलाई ठूलो क्षति पुग्ने आकलन गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।