काठमाडौं - नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक महिने चुनावी अभियान आजबाट सुरु भएको छ ।
‘घरघर जाउँ कांग्रेस जिताउँ’ अभियान स्थानीय तह निर्वाचन केन्द्रित छ । अभियानका लागि केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पुगिसकेका छन् । कांग्रेसले आफ्ना केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि बनाएर जिल्ला खटाएको थियो ।
उनीहरू फागुन २७ गते नै आफूलाई तोकिएको जिल्ला जिल्लामा पुगेका छन् । अभियानअन्तर्गत कांग्रेस ६ हजार ७४३ वडामा पुग्ने छ ।
अभियानमा तत्कालीन केपी ओली नेतृत्वको सरकारको भण्डाफोर गर्ने, आफ्नो सरकारको उपलब्धि बताउने, एमसीसीको भ्रम चिर्नेलगायत उद्देश्य राखेको छ । जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ ।
प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । एमसीसीमा कम्युनिस्टले छरेका भ्रम चिरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्ने विश्लेषकहरूको सल्लाहबमोजिम कांग्रेसले पहिले त्यसलाई नै टार्गेट गरेको छ ।
कांग्रेसको यो तयारीसँगै स्थानीय तहको निर्वाचन तोकिएकै मिति वैशाख ३० गते हुने निश्चित भएको छ । अन्य दलहरू तयारी गर्ने क्रममा रहेका बेला कांग्रेस एक स्टेप अगाडि देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।