काठमाडौं - नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा होमिएको छ । पार्टीको बैठक बसेर कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको हो ।
१४औं महाधिवेशनपछि कांग्रेसले धमाधम पार्टीको बैठक राखेर निर्णय गर्ने परिपाटी बसालेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेकाले कांग्रेसले ‘घरघर जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने नारा नै तयार गरेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले अधिकांश नयाँ केन्द्रीय सदस्यले जिल्ला जिल्ला खटाएको छ । अब नयाँ केन्द्रीय सदस्यले आफूलाई खरो कसरी उतार्ने भन्ने देखाउनुपर्ने बेला आएको छ ।
तोकिएका केन्द्रीय प्रतिनिधि सात सय ५३ वटै स्थानीय तहमा निर्वाचन विशेष अभियानमा जानेछन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय सदस्यले कमान्डरका रूपमा अभियान नेतृत्व गर्ने र प्रदेश, जिल्ला र क्षेत्रले अभियान सहजीकरण तथा व्यवस्थापन गर्दै सशक्त रूपमा अघि बढाउने जानकारी दिए ।
कुन जिल्लाको कमान्डर को हुने भन्ने निर्णय बुधबार आधिकारिक जानकारी गराउने कांग्रेसको तयारी छ । जिल्ला खटिने केन्द्रीय प्रतिनिधिलाई मंगलबार ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन् ।
देउवाले स्थानीय चुनाव प्रभावकारी बनाउन र पार्टी उम्मेदवार जित्नेगरी तयारी गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
सत्तारूढ गठबन्धनमा रहेका दललाई गालीगलौज नगर्न र आरोप–प्रत्यारोपमा नउत्रन समेत उनले निर्देशन दिएका छन् । अभियानका लागि खटाइने केन्द्रीय प्रतिनिधि २७ फागुनभित्र जिल्ला पुगिसक्ने छन् ।
ती केन्द्रीय प्रतिनिधिले मतदातालाई पार्टीका पक्षमा मतदान गर्न अपील गर्नेदेखि एमसीसीमा गरिएको भ्रम चिर्नेसम्मको काम गर्ने कांग्रेसले जनाएको छ ।
अभियानमार्फत कांग्रेसले स्थानीय तहका वडा तथा टोलमा रहेका आफ्ना नेता–कार्यकर्तालाई निर्वाचन केन्द्रित गर्ने र अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि प्रवेश गराउने लक्ष्य राखेको छ ।
कांग्रेसका क्रियाशील सदस्य मात्रै देशभर गरी हालसम्म नौ लाखभन्दा बढी छन् । कांग्रेसबाट जिल्ला खटिने केन्द्रीय सदस्यमा रामहरी खतिवडा धनकुटा, उदयशमशेर राणा रुपन्देही, जितजंग बस्नेत भक्तपुर, गणेश लामा मनाङ, सरिता प्रसाई इलाम, राजीवविक्रम शाह सल्यान, कुन्दन काफ्ले रामेछाप, मोहन बस्नेत काठमाडौं, उर्मिला केसी काभ्रे, अरुण राठोर दार्चुला, डा.चन्द्रमोहन यादव पर्सा, नानु बास्तोला गोरखा, अम्बिका बस्नेत ललितपुर, मदन अमात्य नुवाकोट, डा. गोविन्द पोखरेल धादिङ, शान्ति परियार अर्घाखाँची, दिनेश कोइराला गुल्मी,अजयबाबु शिवाकोटी मुस्ताङलगायत छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।