काठमाडौं - भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन भएको छ ।
भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बुधबार कैलालीको धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवन सहितको नयाँ भवनको उद्घाटन गरे ।
सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘æIndia@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजार रुपैयाँको लागतमा यी नयाँ भवनहरुको निर्माण भएको हो । सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६६५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।
ती परियोजनाहरुमध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन् । यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ ।
भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ’ भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।