काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार बिहान बालुवाटारमा छलफल भएको छ ।
एकाबिहानै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भए ।
तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।
प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्डले एमसीसी पास गर्न हतार नगरौं भनेर प्रस्ताव गरेका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा आबद्ध दलले आफूलाई असहयोग गरेको भन्दै आक्रोश पोखेका थिए ।
प्रधानमन्त्री देउवाले बरु गठबन्धन टुटे टुटोस् एमसीसी जसरी पनि पारित गर्ने भनेर चेतावनी दिएका थिए । देउवा जंगिएपछि प्रचण्ड मौन बसेका थिए ।
सरकारमै रहेर माओवादीले दोहोरो चरित्र देखाएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोगमा एमसीसी पास गर्ने रणनीति बनाएका छन् । एमसीसी पास भएपछि गठबन्धन के हुन्छ भन्न सकिने अवस्था भने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।