काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा.शशांक कोइरालाले एमसीसी र गठबन्धनमध्ये एक रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले अब कुनै विलम्ब नगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी र गठबन्धनमध्ये कुनै एउटा रोज्न दबाब दिने र त्यसपछि नयाँ ढंगले अघि बढ्न कांग्रेस नेताद्वयले सुझाव दिएका हुन् ।
शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन भत्किन सक्ने चेतावनी दिए ।
उनले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’ कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले प्रधानमन्त्री देउवाले एमसिसी एमसिसी पास भए गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए।
‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भनेर गठबन्धन जोगाउने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ,’ उनले भने, ‘एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ। दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ।
एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो। किनभने पाँच सय मिलियन डलर धेरै हो ।’ कांग्रेसका शक्तिशाली नेताहरूले यस्तो अभिव्यक्ति दिएपछि खुमलटारमा तरंग उत्पन्न भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसीलाई लिएर प्रधानमन्त्री देउवालाई असफल बनाएरै छाड्ने रणनीतिमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।