काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले कुनैबेला भनेका थिए– ‘माओवादी हात्ती किन्दे भन्छ । किनेर दियो, फेरि झोला किन्दे भन्छ । त्यो पनि किनेर दियो, अब हात्ती झोलामा हाल्दे भन्छ । त्यो त सकिँदैन नि ।’
ओलीले कुनै समय दिएको यो अभिव्यक्ति अहिले प्रधानमन्त्री शेरबहादुर देउवाका लागि ठ्याक्कै मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिने नचाहिने अत्तो थापेर प्रधानमन्त्री देउवालाई दिन दुःख दिएका छन् ।
हिजो आफैंले सम्झौता गरेको अमेरिकी सहयोग परियोजना एमसीसी अहिले संसदमा टेबुल गर्न हुँदैन, गरेमा सरकार छाडिदिन्छु भन्ने धम्की दिएका छन् । र, त्यो धम्की पार्टीको बैठकबाट निर्णय गराएका छन् ।
वास्तवमा प्रचण्ड एमसीसीसँग त्यति धेरै विमति राख्दैनन् । उनी एमसीसी अनुमोदन होस् भन्ने पक्षमै रहेको एमाले अध्यक्ष ओलीले बिहीबार बताइसकेका छन् ।
आफ्ना केही स्वार्थ रहेकाले प्रचण्डले सडकमा कार्यकर्ता ओरालेको ओलीको बुझाई छ । प्रचण्डको यो रणनीतिबारे कांग्रेस र एमाले जानकार नभएका होइनन् ।
वास्तवमा प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धन कायमै हुन्छ र मिलेर चुनावमा जाने बचन दिएमा प्रचण्डले तुरुन्तै एमसीसीको विरोध फिर्ता लिन्छन् ।
किनभने आगामी चुनावमा माओवादीलाई स्पेस नदिने विषयमा आमजनता छन् । सधैं ढुलमुले र दोहोरो चरित्र देखाएकाले माओवादी केन्द्रसँग मिलेर चुनावमा नजान कांग्रेस नेतृत्वलाई दबाब परेको छ ।
त्यही भएर प्रधानमन्त्री देउवाले एमसीसीकै विषयलाई गठबन्धन टुटाउने अस्त्र प्रयोग गर्न खोजेका हुन् । यो कुरा बुझेका प्रचण्डले राजनीतिमा स्पेस राख्नकै लागि एमसीसीको सहारा लिएको विश्लेषण गर्न थालिएको छ ।
यदि कांग्रेस र एमाले मिले भने एमसीसी सहजै पारित हुन्छ । गठबन्धन पनि टुट्छ । यदि एमालेले माओवादी केन्द्रसँग आगामी चुनावमा एकता र सहकार्य नगर्ने बचन दिएमा देउवा गठबन्धन तत्काल तोड्ने मनस्थितिमा छन् ।
त्यसपछि चुनावमा प्रचण्डको हैसियत कत्रो हुन्छ सबैले देख्ने नै छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हविगत पनि त्यही हो । कि एमालेमा फर्किनु पर्यो कि कांग्रेससँग गठबन्धन गर्नुबाहेक माधवसँग दोस्रो विकल्पसमेत छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।