काठमाडौं - नेपाली कांग्रेसको अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन मिति दुई दिन पर धकेलिएको छ ।
केही दिनअघि सम्पन्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रहअनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन अब १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो ।
निर्वाचन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । क्रियाशील सदस्यताका विवादको कारण मधेस प्रदेशका आठैवटा जिल्लासहित चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपुर, बाँके, अछाम र कैलालीको अधिवेशन रोकिएको छ ।
यस्तै १६ जिल्लाबाहेक निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति १० फागुनभित्रै हुने निर्णय भएको समितिले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।