काठमाडौं - सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै राजनीतिक सरगर्मी बढेको छ । अबको तीन महिना देशमा चुनावी माहोल तात्नेछ ।
सरकारले चुनावको मिति तोकेसँगै राजनीतिक दलहरू अब कसरी अगाडि बढ्लान् भन्ने चासो सर्वत्र देखिएको छ । खासगरी अहिलेको पाँचदलीय गठबन्धन कायम रहन्छ कि रहन्न भन्नेमा धेरैको उत्सुकता छ ।
गठबन्धन दलमै यसबारे दुईथरी मत छ । सत्तारुढ कांग्रेसमा गठबन्धन नगर्ने र गरेर जाने दुईथरी धारणा छ । तर, पनि अहिलेसम्म ठोस निर्णय भइसकेको छैन ।
चुनावको मिति घोषणा भएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनसम्म पाँचदलीय गठबन्धन कायमै राखेर जानुपर्ने भन्दै कांग्रेससँग तालमेलको प्रस्ताव गरेका छन् ।
स्रोतका अनुसार प्रचण्डले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोले जहाँ जहाँ जितेका छन्, ती ठाउँमा आगामी निर्वाचनमा पनि तिनै दललाई छाड्ने र एमालेले जितेका ठाउँमा गठबन्धन बनाएर जाने प्रस्ताव गरेका छन् ।
प्रचण्डको यो प्रस्तावबारे अहिले कांग्रेसमा आन्तरिक छलफल चलिरहेको एक नेताले जानकारी दिए । एमालेले जितेका ठाउँमा धेरै सिट कांग्रेसले पाउनुपर्ने नेताहरूको भनाइ छ ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले राखेको प्रस्तावबारे गठबन्धन बैठकमा छलफल अघि बढेको छैन । तर, प्रचण्डले आफ्नो प्रस्ताव विभिन्न स्रोतमार्फत कांग्रेस नेताहरूकहाँ भने पुर्याइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।