काठमाडौँ - अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर नेपालका नेताहरू आपसमै मारकाट गर्ने संकेत देखिएको छ ।
एमसिसीले देशलाई नै दुई ध्रुवमा बाँडिदिएको छ । ५५ अर्बको प्रोजेक्ट संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सबैको निदहराम गरिदिएको छ । एमालेबाहेक सबै दलमा भाँडभैलो मच्चिएको छ ।
सत्तारुढ गठबन्धन कुन बेला टुट्ने हो निश्चित छैन । जसपा नेता डा.बाबुराम भट्टराईको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलसँग जुहारी चलेको छ ।
सामाजिक सञ्जालमा यी नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको छ । श्रेष्ठ र रावल एमसिसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् । भट्टराई जसरी भए पनि एमसिसी पास गर्नुपर्ने पक्षमा छन् ।
यसैबीच, पूर्व प्रधानमन्त्री भट्टराई र एमाले नेता डा.रावलबीच आरोप प्रत्यारोपको चर्चा सुरु भएको छ । भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै रावलको पीएचडी कतै नक्कली त हैन भनी आशंका गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा मंगलबार लेख्दै भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गलत आरोप लगाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’ त्यसअघि रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोपसमेत थियो ।
उनले भनेका थिए, हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।