काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठमै स्थानीय तहको निर्वाचन गर्न किन प्रस्ताव गरेछन् भन्ने कुरा बल्ल बाहिर आएको छ ।
शनिबारको पाँचदलीय गठबन्धन बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने, त्यसका लागि संविधानसँग बाझिएका कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
सत्तारुढ गठबन्धनको यो निर्णयले जेठमै निर्वाचन हुने संकेत देखिएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरे गठबन्धन टुट्ने चेतावनी दिएको समाचार बाहिर आएपछि रडाको मच्चिएको छ ।
प्रधानमन्त्री देउवाको भनाइ आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले मिडियामा चुहाएका थिए ।
देउवाले एमसीसी पास गर्ने सर्तमै जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको बुझिएको छ । देउवाको यो प्रस्तावलगतै सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारी देखाउँदै संसद् बैठक १० दिनपछि धकेलेका छन् ।
यदि चालू अधिवेशनमा एमसीसी पास नभए सत्तारुढ गठबन्धन टुट्ने र कांग्रेस–एमाले सहकार्य हुने अनुमान गर्न थालिएको छ ।
एमसीसी कुनै हालतमा पास गर्नुपर्ने अन्यथा सत्ता गठबन्धन नै तोड्ने देउवाको चेतावनीपश्चात संशोधन गरेर पास गर्नुपर्ने पक्षमा देखिएको गठबन्धनमाथि अर्को संकट आइलाग्ने देखिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।