काठमाडौं - राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई शून्य बनाउने भनेर हुँकार गर्ने एमाले नेताहरू आफैं विक्षिप्त भएका छन् । बुधबार भएको निर्वाचनमा कांग्रेसका ६ जना सांसद विजयी भएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनेमा कमला पन्त, गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणप्रसाद मिश्र छन् । बुधबार १९ सिटमा निर्वाचन भएको थियो ।
जसमध्ये एमालेले एउटा, माओवादी केन्द्रले पाँच, एकीकृत समाजवादीले चार, जसपा र राजमोले एक–एक सिट हात पारेका छन् । सत्तारुढ गठबन्धनबाट १८ जना विजयी भए । अब एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।
त्यसमा नेपाली कांग्रेस निकट एक बुद्धिजीवीलाई मनोनीत गर्ने सरकारको तयारी छ । एमाले र माओवादी केन्द्र विभाजन हुँदा पनि एमाले २४ सीटसहित राष्ट्रिय सभामा पहिलो दल थियो । एमालेले यसपालि ८ सीट गुमाउँदैछ ।
जसमध्ये निर्र्वाचनबाट १ सीट सुरक्षित राख्न सफल भएको छ । चुनावमा ७ सीट गुमाउँदा पनि एमाले नै राष्ट्रिय सभामा पहिलो दल हुने भएको छ । अब राष्ट्रिय सभामा एमालेसँग १७ सीट मात्रै हुन्छ ।राष्ट्रिय सभामा माओवादीको १४ सीट थियो ।
यसपटक उसको ४ सीट खाली हुँदैछ तर निर्वाचनबाट ५ सीटमा जीत निकालेको छ । अब राष्ट्रिय सभामा माओवादी सांसदको संख्या १५ पुगेको छ । राष्ट्रिय सभामा ७ सीट भएको कांग्रेसको यसपटक तीन सीट खाली हुँदैछ ।
कांग्रेसले ६ सीट जितेकाले राष्ट्रिय सभामा कांग्रेसको १० सीट भएको छ । एकीकृत समाजवादीको राष्ट्रिय सभामा सात सिट थियो । यसपटक एसका चार सांसद राष्ट्रिय सभाबाट बाहिरिनुपर्ने थियो ।
निर्वाचनमा एकीकृत समाजवादीले चार सिटमा जितेकाले राष्ट्रिय सभामा एसको सात सीट भएको छ । राष्ट्रिय सभामा दुई सीट भएको जसपाले निर्वाचनबाट एक सीट थपेको छ भने राष्ट्रिय जनमोर्चा एक सीटसहित राष्ट्रिय सभामा प्रवेश गरेको छ ।
राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीको एक सीट र स्वतन्त्र सांसद एकजना छन् । राष्ट्रिय सभाको ५९ सदस्यमध्ये तीनजना राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।