काठमाडौं - राष्ट्रिय सभाको रिक्त १९ सिटमा आज मतदान हुँदैछ । मतदानमा सहभागी हुन प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख बुधबार आ–आफ्नो प्रदेश सदरमुकाम जम्मा भइसकेका छन् ।
कोही आउने क्रम जारी छ । निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान चल्ने छ ।
कांग्रेस नेतृत्वमा सरकार बनेपछि पहिलोपटक रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन हुन लागेको हो । राष्ट्रपतिबाट एक मनोनीतसँगै १९ सांसदको पद आगामी फागुनबाट रिक्त हुँदैछ । त्यसअघि नै पदपूर्ति गर्नुपर्ने भएकाले आज निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोबीच गठबन्धन भएको छ । जसमध्ये कांग्रेसले ६ सिट पाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले समान पाँच सिट, जसपाले दुई र राजमोले एक सिट पाएका छन् ।
आ–आफ्ना सांसद जो पदावधि सकिएका थिए सबैले ती क्षेत्रमा उम्मेदवारी दिने र एमालेका आठ सांसदको ठाउँमा गठबन्धनले भागबन्डा गरेका छन् । यो निर्वाचनमा गठबन्धनले सफलता पाउने देखिएको छ भने एमालेले आफ्नो भागमा परेको आठ सांसद गुमाउने निश्चित छ ।
किनभने सातवटै प्रदेशमा गठबन्धनको मत धेरै छ । त्यसैले भोट क्रस भएन भने एमालेलाई राम्रै धक्का लाग्ने भएको छ । राष्ट्रिय सभाको निर्वाचन सकिएलगत्तै सरकारले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।