काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा कोभिडविरुद्धको खोप खरिदमा भएको अनियमितताले ठूलै चर्चा पायो ।
उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्म विवादमा परे । ओली सरकारले खोप खरिदमा ठूलै कमिसन खाएको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।
खासगरी चीनसँग खरिद भएको दुई करोड डोज खोपमा कमिसन धेरै लिइएको स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारीहरूको दाबी छ । ओली सरकार ढलेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।
उनले प्रधानमन्त्री पदको सपथ खाएपछि जनतालाई खोप लगाउनु नै आफ्नो पहिलो काम हुने बताए । सोहीअनुसार उनले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए ।
कांग्रेस नेतृत्वको सरकार भएकाले पनि विभिन्न देशले अनुदानमै खोप उपलब्ध गराउँदै आएका छन् । सरकारले पनि पहिलो, दोस्रो र अतिरिक्त खोप गरी नौ करोडभन्दा डोज खोप ल्याउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको बताएका छन् । उनले खोप अभियान सातवटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताए ।
मन्त्री खतिवडाले कोरोनाविरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए । समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ ।
सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रणका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए ।
कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।