काठमाडौं - जबजब नेपाललाई आपत पर्छ, तब तब चीनले असहयोग गर्दै आएको छ । खासगरी प्राकृतिक विपत्तिमा चीनले नेपाललाई पेल्दै आएको छ ।
नेपालका कम्युनिस्ट नेताहरू चीनले देशमा विकासको मूल नै फुटाइदिने गफ चुट्न पछि पर्दैनन् । तर, इतिहास हेर्ने हो भने त्यस्तो देखिएको छ । अझ कोरोना भाइरस महामारीमा चीनले कोभिडविरुद्धको खोपमा बाहेक अन्य सहयोग ठप्प नै पारेको छ ।
खोप भने चीनले अहिले सम्म झन्डै एक करोड डोज उपलब्ध गराइसकेको छ अनुदानमा । तर व्यापार व्यवसायमा भने चीनको नीति असहयोगी रहेको छ । नेपालका सयौं कन्टेनर चीनमा रोकिँदा पनि त्यहाँको सरकारले चासो दिएको पाइँदैन ।
बेलाबेलामा चीनले केरुङ नाका र तातोपानी नाका एकतर्फी बन्द गरिदिँदा नेपाली व्यापारी व्यवसायीको अर्बौ रुपैयाँ नोक्सान भएको छ । लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन्।
चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन नै गरे। कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन्।
दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन्। चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन्।
आयात हुने सामानमा पनि जलविद्युतका सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन्। जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ।
चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ अड्किएको हिमालयन सीमापार वाणिज्य संघले जनाएको छ।
केरुङ हुँदै आउने सामान चिनियाँ पक्षले केरुङ र रसुवागढीको बीचमा रहेको पुलमा झार्ने गरेको छ। त्यहाँबाट नेपाली कामदारले लोड गरी ल्याउँछन्। कोभिडको कारण चिनियाँ पक्षले सामान पुलमा झार्दा लोड गर्न पनि नेपाली व्यापारीलाई झन्झट छ।
तातोपानी नाकामा भने चिनियाँ कन्टेनरले नै भन्सारसम्म सामान ल्याएर छाड्ने गरेकाले केही सजिलो छ। नेपालीका समस्यामा चिनियाँ पक्ष गैरजिम्मेवार बनेको व्यापारीको आरोप छ। नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ।
तातोपानी र केरुङबाट सामान आयात गर्दा १८–२० दिनमै आइपुग्छ। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०–४२ दिन लाग्छ।
तातोपानी र केरुङ हुँदै सामान आयात गर्न आधा समय कम लाग्ने भएकाले व्यापारीले यतैबाट ल्याउन चाहान्छन्। तर चिनियाँ पक्षले नेपाली व्यवसायीको मागलाई बेवास्ता गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।