काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघलगायतमा नेतृत्वको संकट आएको छ ।
ती भ्रातृसंगठनका अध्यक्ष कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कांग्रेस विधानअनुसार नेतृत्वविहीन भएको हो । तर पनि अहिलेसम्म कांग्रेसले यसबारे कुनै निर्णय लिन सकेको छैन ।
त्यसैले नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर समूहले नेविसंघलगायत नेतृत्वविहीन भ्रातृसंगठनहरूमा नेतृत्व चयन गर्न भन्दै पार्टी नेतृत्वलाई दबाब दिन अभियान अगाडि बढाउने भएका छन् ।
त्यसका लागि सोमबार राजधानीमा छलफल आयोजना गरियो । एक सातादेखि सुरु भएको यो अभियानमा सहभागी हुनेको संख्या बढ्दै गएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू डा.केदार सुवेदी, जयराम दाहाल, भरत खड्का छलफलमा सहभागी भएका थिए । उनीहरूले नेपाली कांग्रेसलाई मजबुत बनाउन यो अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।
नेपाली कांग्रेस नुवाकोटका युवा नेता एवं नेविसंघका प्रभावशाली नेता शक्ति तामाङ, प्राध्यापक मधुसूदन सिग्देल, एनपी जोशी, गौरव राई, इन्द्र थापा, विनोद रावल, धिरेन्द्र बम, अभिनेत्री पूजा शर्मा, माया डाँगी, विशाल पौडेललगायतले यो अभियानलाई जसरी पनि सफल बनाउन लाग्नुपर्ने धारणा राखेका थिए ।
अब तत्कालै पार्टी नेतृत्वसमक्ष ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउने र यदि माग पूरा नभए दबाबस्वरुप विभिन्न गतिविधि अगाडि बढाउने कार्यक्रम संयोजक ताराबहादुर थापाले मिडिया डबलीलाई बताए ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।