काठमाडाैं - नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि नेपाली समाज आनन्दराज बतासको पक्ष र विपक्षमा विभाजित भइरहेको छ ।
बतास समूहले शक्तिका आडमा देशको विभिन्न स्थानमा ठेक्का पारेर काम गरिरहेको सार्वजनिक भइरहेका बेला आइतबार बिहान राप्रपा पूर्वअध्यक्ष कमल थापा भने उनको बचाउमा उत्रिएका छन् ।
बतास समूहका अध्यक्ष आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी आक्रमण भइरहेको भन्दै आइतबार बिहान ७ः३४ बजे थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भइरहेको छ । भित्री रहस्य थाहा छैन । मैले चिनेको आनन्दराज बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् । उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’
सत्ता र राजनीतिक संरक्षणको सिँढीमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासबारे समाचार प्रकाशित भइरहेका बेला थापाले सार्वजनिक धारणाले धेरैको ध्यान तानेको छ ।
आखीर किन थापाले बतासकाे पक्ष लिए त ? बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको थापाले भनाइ छ । तर, थापाले आफूले पहिलेदेखि नै चिनेको बताएका छन् ।
राप्रपाका एक नेताका अनुसार थापा र बतासबीच हार्दिक सम्बन्ध छ । बतासले थापालाई आर्थिक सहयोगदेखि गाडीसमेत किनिदिएको राप्रपा स्रोतको भनाइ छ । जसकारण अहिलेसम्म कुनै पनि दलका नेता नबाेल्दा बतासको बचाउमा थापा उत्रिएका हुन् ।
गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा समेत थापालाई बतासले आर्थिक सहयोग गरेको थियो । पशुपति क्षेत्रमा बतास समूहले बनाएको भवनमा थापाले सम्पर्क कार्यालय खाेलेका थिए ।
भृकुटीमण्डपमा महाधिवेशन गरिने भएपछि पशुपति आउजाउमा सवारी जामसहितका समस्या हुने भएपछि थापाले आफ्नो सम्पर्क कार्यालय याक एन्ड यती होटेलमा बनाएका थिए ।
यसमा पनि बतास समूहले थापालाई आर्थिक सहयोग गरेको राप्रपाका एक नेताले न्युज कारखानालाई बताए । तर, बतास समूहको सहयोगबारे पूर्वअध्यक्ष थापाले केही खुलाएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।