काठमाडौं - पछिल्लो समय देशका विभिन्न जिल्लामा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ ।
एमाले, माओवादी केन्द्रलगायतका पार्टीप्रति असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने लहर सुरु भएको हो । आफू आबद्ध पार्टीमा भएका गतिविधिप्रति चरम असन्तुष्टि जनाउँदै कांग्रेसले अंगालेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन प्रवेश गरेको पार्टी परित्याग गर्नेहरू बताउँछन् ।
कांग्रेसको वडादेखि केन्द्रीय अधिवेशन सकिएपछि इलाम, अर्घाखाँची, मकवानपुर, सिन्धुपाल्चोकलगायतका विभिन्न जिल्लामा कांग्रेस पार्टी प्रवेश अभियान सुरु गरिएको छ ।
आगामी निर्वाचनसम्म कांग्रेसमा १५ लाखभन्दा बढी भोटर बढाउने उद्देश्यसहित अन्य दलका नेता कार्यकर्ता भित्र्याउने अभियान चलाइएको हो ।
अर्घाखाँचीमा हालै आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री गगन थापाले देशभरबाट १५ लाखलाई कांग्रेस प्रवेश गराउने लक्ष्य लिएको सार्वजनिक गरेका थिए ।
अहिले कांग्रेसका जिल्ला सभापतिहरू युवाहरू निर्वाचित भएकाले पनि उनीहरूले संगठन विस्तारलाई ध्यान दिएका हुन् । सबैभन्दा बढी इलाम कांग्रेस यो अभियानमा वडादेखि नै सक्रिय भएर लागेको छ ।
माईजोगमाई गाउँपालिका–४ मा मात्रै विभिन्न पार्टी परित्याग गरी एक सय बढी कांग्रेसमा प्रबेश गरिसकेको वडा समिति सचिव सुरेश भट्टराईले बताए ।
नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई समेत मध्यनजर गरेर जिल्ला समितिको निर्देशमा वडादेखि नगर, प्रदेश र क्षेत्रीयस्तरमा संगठन विस्तार, प्रशिक्षणलगायतका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
पार्टीको जिल्ला अधिवेशनपछि कांग्रेस इलामले हालसम्म दुई हजार बढीलाई कांग्रेसमा भित्र्याइसकेको पार्टीका जिल्ला सभापति डम्बर खड्काले जानकारी दिए ।










मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।