काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।
उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् ।
भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारीमा लागेका छन् । देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड– १९ पछि आर्थिक पुनःस्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने गरी एजेन्डा तयार पारिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।