काठमाडौं - यतिबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्न नहुने भन्दै लबिङमा लागेका छन् ।
खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका केही नेताहरू एमसिसीको विरोधमा लागेका छन् । नेपाली कांग्रेस भने एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने अडानमा छ । एमाले भने च्याँखे दाउ थापेर बसेको छ ।
एमसिसीको झगडामा सत्तारुढ गठबन्धन संकटमा परोस् भन्ने उसको भित्री चाहना देखिएको छ । प्रचण्ड र माधव नेपालले आगामी निर्वाचनसम्म वर्तमान सत्ता गठबन्धन टिक्ने बताइरहेका बेला एमसिसीकै कारण यो गठबन्धन चुनावसम्म नजाने आकलन सुरु भएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्नु र एमसिसी संसदबाट जसरी पनि पारित गर्ने तयारीले केही समयभित्र नेपालको राजनीति फेरि तरल अवस्थामा पुग्ने संकेत देखिएको छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसका अधिकांश युवा नेता चुनावमा गठबन्धन नगर्ने अडानमा छन् । त्यही भएर उनीहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई औंला समातेर बढ्नुको अर्थ नहुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् ।
देउवामाथि दैनिक दबाब बढिरहेको छ । त्यसैले आगामी चैतभित्र गठबन्धन छियाछिया र सबै दल आफ्नै ढंगले स्थानीय तहको निर्वाचनमा होमिने चर्चा नेपालको राजनीतिमा सुरु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।