काठमाडौं - नेपाली कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत आज नेतृत्वका लागि निर्वाचन हुँदैछ । प्रदेश सभापतिमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
कृष्णलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन गरेका छन् । प्रदेश मन्त्रीसमेत रहेका रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ छ ।
कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् । महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादव उम्मेदवार बनेका छन् । रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनाल, महामन्त्रीमा नरेश यादव र हरेश यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादव र सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन्। देउवा र निधि–कोइराला समूहबीच प्रदेश समितिको ७२ पदमै प्यानलगत प्रतिस्पर्धा हुने भएको छ ।
प्रदेश २ मा आफ्नो बलियो उपस्थिति रहेको भन्दै देउवा समूह निधि पक्षलाई नेतृत्व दिन तयार नभएपछि चुनाव हुन लागेको हो । महाधिवेशनको दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधिले प्रदेश २ मा साथ पाउने अपेक्षा राखेका थिए ।
निधिले देउवासँग रामसरोजलाई सर्वसम्मत सभापति बनाउन चाहेका थिए । तर, देउवा मानेनन् । त्यसपछि चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।