काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १०:३० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो ।
मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसको दुई महामन्त्रीका लागि ६ जना उम्मेदवार छन् । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, डा.मिनेन्द्र रिजाल, प्रदीप पौडेल र डा.राजाराम कार्की छन् ।
उपसभापतिको भोटिङ प्याटर्न हेर्दा आधारभूत रूपमा गुटमै मत खसेको देखिन्छ । तर, महामन्त्रीमा निकै भोट क्रस भएको कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नै बताएका छन् ।
यस आधारमा हेर्दा युवा नेता गगन थापा महामन्त्रीमा सुरक्षित छन् भन्ने देखिन्छ । विभिन्न अध्ययनले महामन्त्रीमा थापाको सम्भावन सबैभन्दा बलियो र डा. प्रकाशशरण महत र विश्वप्रकाश शर्माबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।
महामन्त्रीमा कम्तीमा पनि एक हजार मत क्रस भएको बुझिएको छ । जसले को महामन्त्री बन्छ भन्ने निर्धारण पनि गर्नेछ । सभापतिमा शेरबहादुर देउवाले पहिलो चरणमा २२ सय ५८ मत पाएका छन् ।
सभापतिका अर्का उम्मेदवार डा.शेखर कोइरालाले १७ सय दुई मत पाए । सभापति भनेको टाउको हो । तर, अन्य पद भनेको ऐच्छिक र वैकल्पिक पनि हुने भएको तथा ६ जना प्रतिस्पर्धामा रहेकाले कडा प्रतिस्पर्धा हुने नेताहरू बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।