काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ ।
महाधिवेशन उदघाटन हुन तीन दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम ह्वात्तै बढेको छ । अधिकांशले आफ्नै जिल्लाबाट र केहीले काठमाडौैमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो ।
सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला, कल्याणकुमार गुरुङ छन् ।
देउवाले सोमबार फेरि एकपटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । पौडेलले आकांक्षा देखाए पनि प्रकाशमान र शेखरका कारण उनको उठ्ने नउठ्ने निश्चित भइसकेको छैन । निधिले त सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय नै खोलेका छन् ।
सिंहले मंगलबार सम्पर्क कार्यालय खोलेका छन् । उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, घोषणा गरेका छैनन् ।
डा.प्रकाशमान सिंहले महामन्त्रीमा दाबी गरे पनि उठ्ने नउठ्ने निश्चित छैन । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, दीपक गिरी, बद्री पाण्डे, जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।
केन्द्रमा कस्तो समीकरण बन्छ, त्यहीअनुसार पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर कुर्नेको संख्या पनि त्यत्तिकै छ । सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ ।
रामहरी खतिवडा, उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी, मनाेजमणि आचार्य, रामपल्टन साह, नवराज गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।