काठमाडौं - सधैं अरुलाई मूर्ख बनाउँदै राप्रपामा हालीमुहाली गर्दै आएका कमल थापाले यसपटक राम्रै झट्का बेहोरेका छन् । आफूभन्दा जान्नेसुन्ने र बुझ्ने कोही छैन भन्दै आएका थापालाई झापाका राजेन्द्र लिङ्देनले दह्रो चुनौती दिएपछि उनी यतिबेला रन्थनिएका छन् ।
हुन पनि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीलाई कहिले पार्टीबाट निकाल्ने त कहिले पार्टी विभाजन गर्नेसम्मको हर्कत गर्दै आएका थापालाई जारी महाधिवेशनमा लिङ्देनले राम्रै चुनौती दिएपछि अध्यक्ष जित्न उनले विभिन्न हथकण्डा अपनाएका छन् । राप्रपाका युवा नेता जति सबैले लिङ्देनलाई साथ दिएपछि थापा तनावमा परे ।
लोहनीलगायतका सिनियर नेताले पनि युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै थापालाई सहयोग गरेनन् । बरु लिङ्देनलाई समर्थन गरे । प्रभावशाली नेता विक्रम पाण्डेले समेत थापालाई साथ नदिएपछि उनी झनै चिन्तित बने ।
पाण्डेलाई फकाउन थापाले एमाले अध्यक्ष केपी ओलीको समेत साथ लिए । स्रोतका अनुसार पाण्डेलाई आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध लड्न आवश्यक सबै सहयोग गर्ने हल्लासमेत पिटाइयो ।
यो हल्लापछि धेरैले पाण्डे थापासँगै उनकै प्यानलमा भएको चर्चा पनि चल्यो । तर, शुक्रबार साँझ पाण्डे लिङ्देनको प्यानलमा देखिएपछि त्यो हल्ला पानीको फोका जस्तै सावित भयो । शनिबार मतदान चल्दै गर्दा थापा विजयवास पुगे ।
विजयवास राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको निवास हो । उनले त्यहाँ गएर राणालाई लिङ्देनलाई आफ्नो समर्थन नरहेको चिर्कटो लेख्न लगाए । र, सामाजिक सञ्जालमा पोस्ट्याए ।
जबकि राणाका आधाभन्दा धेरै समर्थक लिङ्देनको पक्षमा खुलिसकेका छन् । राप्रपाको नयाँ नेतृत्वका लागि मतदान जारी छ । सम्भवतः आइतबार बिहानसम्म मत परिणाम पनि आइसक्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।