काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले सातवटै प्रदेशमा अधिवेशन भइरहेको छ ।
बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । तर, प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ ।
सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । थापा देउवा–सिटौला पक्षबाट तथा घिमिरे पौडेल–कोइराला समूहबाट उठेका हुन् ।
कांग्रेस बाग्मती प्रदेश सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा संस्थापन पक्ष शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् ।
हेटौंडामा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । बानियाँ नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन् । संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेद्वार रहनेछन् ।
पौडेल–कोइराला समूहबाट जगदीश्वरनरसिंह केसीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन् ।
सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् । सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।
गण्डकी प्रदेशमा संस्थापन समूहबाट अर्जुनप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् । इतर समूहबाट शुक्रराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
लुम्बिनी प्रदेशमा संस्थापन समूहबाट भरतप्रसाद शाह र इतर पक्षबाट अमरबहादुर पुनबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ ।
कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ ।नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीनजनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् । सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ ।
सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।