काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हुने सुदूरपश्चिम प्रदेश कार्यसमितिको अधिवेशनमा कञ्चनपुरका नेता तथा महाधिवेशन प्रतिनिधि चिन्तामणि भट्टले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।
बैतडी र कञ्चनपुरको पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील भट्टले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् । भट्ट कांग्रेसभित्र सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
पार्टीका नेता–कार्यकर्तासँगको छलफलपछि प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने निष्कर्षमा पुगिएको नेता भट्टले जानकारी दिए । हालै भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत भट्ट कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट लोकप्रिय मतका साथ विजयी भएका थिए ।
भट्टले राजनीतिक यात्रा बैतडीको सनातन धर्म माविमा नेविसंघ इकाई अध्यक्ष भएर सुरु गरेका हुन् । उनी २०४२ सालमा नेपाली कांग्रेसद्वारा गरिएको सत्याग्रहमा नेविसंघ बैतडीको तर्फबाट सहभागी भएका थिए ।
पार्टीको १०औं महाधिवेशनका क्रममा नेपाली कांग्रेस बैतडी क्षेत्र नम्बर ३ को सचिव भएका उनी २०४९ सालको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनी २०५१–२०६० सालसम्म बैतडी कांग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत भए । त्यसपछि कञ्चनपुर आएर पार्टीमा सक्रिय भएका भट्ट १२औं महाधिवेशनका क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ कञ्चनपुरको क्षेत्रीय सभापति बनेका थिए । उनी १३औं महाधिवेशनमा समेत क्षेत्रीय सभापतिमै निर्वाचित भए ।
हालै सम्पन्न १४औं महाधिवेशनको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका भट्ट नेपाली कांग्रेस संगठन विभागको केन्द्रीय सदस्यमा कार्यरत छन् ।
प्रजातान्त्रिक अभियानका क्रममा उनी २०४२, २०४६ र २०६२/६३ सालमा भएका आन्दोलनमा पटक–पटक गरी ३ महिना हिरासतमा समेत परेका छन् ।
महामन्त्री पदका उम्मेदवार भट्ट सामाजिक संघसंस्थामा समेत आवद्धता हुँदै आएका छन् । २०५८–२०७७ सालसम्म नेपाल बाल संगठन कञ्चनपुरको सचिव भएका उनी शुक्लाफाँटा आरक्ष जग्गा समस्या समाधान आयोगमा पार्टीको प्रतिनिधित्व गरी सहभागी भएका छन् ।
कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी, हिमालय मैत्री संघ, सामुदायिक विकास कोष झलारीका उनी संस्थापक हुन् । उनले भूमिराज मावि बैतडी र बैजनाथ मावि कसरौल कञ्चनपुरको अध्यक्ष भई प्राविदेखि उच्च माविसम्मको नेतृत्व समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।