काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधिको चुनावमा संघीय सांसद रामबहादुर विष्ट हारेका छन् ।
अछामको २ नम्बर निर्वाचन क्षेत्रबाट मैदानमा उत्रिएका विष्टको मत बराबर भएपछि गोलाप्रथा हुँदा भाग्यले साथ नदिएपछि उनी महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् ।
सांसद विष्ट र क्षेत्रीय सभापति लक्ष्मण शाहको मत बराबर भएपछि गोलाप्रथा गरिएको हो । महाधिवेशन प्रतिनिधिमा दुवैले बराबर ३८७ मत ल्याएका थिए ।
महाधिवेशन प्रतिनिधिमा विजयी भएका शाह उपचारका क्रममा काठमाडौंमा रहेका छन् । शाहले वारेसनामार्फत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका थिए । १३औं महाधिवेशनमा शाह गोलाप्रथाबाटै क्षेत्रीय सभापति पदमा विजयी भएका थिए ।
त्यो क्षेत्रबाट अधिकांश महाधिवेशन प्रतिनिधि सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि पदमा पुष्प शाह, नमबहादुर शाही, लक्ष्मण शाह, मानबहादुर शाही, वेदप्रकाश तिमिल्सिना, पदमराज अधिकारी, गणेशबहादुर विष्ट, सुरतबहादुर विष्ट, यज्ञप्रसाद ढकाल, अम्बिका चलाउने, अन्जु मल्ल शाह, भूमिशरण बजगाईं र अम्बिकाकुमारी थापा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा पूर्णा शाह, वसन्ती विष्ट, वेलुदेवी साउँद, दूर्गाकुमारी विक, टेकबहादुर विक, कमल विक, नवराज चलाउने, ओमजंग रावल र कृष्णप्रसाद ढकाल समेत निर्वाचित भएका छन् । यी सबै देउवा पक्षका रहेका जनाइएको छ ।
संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ३ जना मात्रै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पौडेल पक्षका बलबहादुर कुँवर, ओमप्रकाश विष्ट र रामबहादुर शाही महाधिवेशन प्रतिनिधि बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।