काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शुक्रबार काठमाडौंमा हुने भएको जिल्ला अधिवेशन कार्यक्रम हल नपाएपछि रोकिएको छ ।
राष्ट्रिय सभागृहमा आज शुक्रवार अधिवेशन गर्ने तयारी भए पनि हल भोलि शनिवारसम्म व्यस्त हुने भएपछि काठमाडौं कांग्रेसले अधिवेशन नै स्थगित गरेको छ ।
स्थगित भएको जिल्ला अधिवेशन अब पर्सि आईतवार बिहान उद्घाटन हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भए पनि हल नहुँदा स्थगित भएको बताए । उद्घाटन कार्यक्रम नभए पनि उम्मेदवारी दर्ता लगायतका कार्यक्रम भने हुने भएका छन् ।
भोलि शनिवार निर्वाचन समितिको कार्यालयमा मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्तासम्मको प्रक्रिया पूरा गरिने आचार्यले बताए ।
काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्रीय अधिवेशनको परिणामले पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगनकुमार थापाको गठबन्धन बलियो देखिएको छ ।
काठमाडौंको जिल्ला सभापति पदका लागि सिंह र थापाको समर्थनमा वर्तमान जिल्ला सभापति सबुजकृष्ण बानियाँले उम्मेदवारी दिँदैछन् भने देउवा–सिटौला गठबन्धनले बानियाँविरुद्ध उपेन्द्र कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।