काठमाडौं - नेपाली कांग्रेसको जारी अधिवेशनमा आन्तरिक प्रतिस्पर्धा पनि गैरराजनीतिक रुपमा अघि बढिरहेको छ। प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण पक्षले इतर समूहलाई सिध्याउन राज्यस्रोतको दुरुपयोग गरिरहेको आरोप लागेको छ ।
यही आरोपलाई पुष्टि गर्ने गरी प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा प्रहरीले गोली नै चलायो । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विजयी हुन थालेपछि देउवा समूहले प्रहरीको सहारा लिएर निर्वाचन बिथोलेको आरोप छ।
यसैक्रममा महामन्त्री डा.शशांक कोइरालाको ठाडो निर्देशनमा रौतहट कांग्रेस अधिवेशन राजनीति विवादित बनाइएको छ। सोही विवादका कारण ६ मंसिरमा सम्पन्न हुनुपर्ने क्षेत्रीय अधिवेशन अझै सम्पन्न हुन सकेको छैन। विवादकै कारण रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन अवरुद्ध भएको छ।
कांग्रेस नेता–कार्यकर्ताहरूका अनुसार चन्द्रपुर नगरपालिका–५ बाट क्षेत्रीय प्रतिनिधि हारेका रविनचन्द्र कोइराला (२२७) लाई क्षेत्रीय प्रतिनिधि बनाउन क्षेत्र नम्बर ४ को अधिवेशन विवादित बनाइएको हो ।
यो षडयन्त्रमा कांग्रेसका जिल्ला सभापति कृष्णा यादव, मतदान अधिकृत दिपक रेग्मीलगायतको समेत संलग्नता रहेको असन्तुष्ट नेतारकार्यकर्ताहरूले बताएका छन् । रविनचन्द्र कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलका क्लासमेट हुन् ।
उनी चन्द्रपुरबाट प्रतिनिधिमा हारेपछि महामन्त्री शशांक कोइरालाको ठाडो निर्देशनमा उनलाई बृन्दाबन–२ बाट क्षेत्रीय प्रतिनिधि बनाइएको छ। यही षडयन्त्रअन्तर्गत रौतहट–४ (ख० मा २७२ क्षेत्रीय प्रतिनिधिमध्ये १५१ ले हस्ताक्षर गरी माग गर्दासमेत निर्वाचन गराउन मतदान अधिकृतले बेवास्ता गर्दै आएका छन् ।
जिल्ला सभापति यादवकै तजविजमा खाने, बस्ने गर्दै आएका रेग्मी यादवको योजनाअनुसार नै हिँडेको कार्यकर्ताको आरोप छ। मतदान अधिकृत रेग्मीले कृष्णा यादवसँगको मिलेमतोमा वडा अधिवेशनबाट छनोट भइसकेका क्षेत्रीय प्रतिनिधिहरूको नाम सदरमुकाम गौर लगेर हटाउने र किर्ते गरी आफ्नो पक्षका क्षेत्रीय प्रतिनिधिहरूको संख्या बढाउने गरेकोसमेत उनीहरूले आरोप लगाएका छन् ।
जिल्ला सभापति यादवले भने रौतहटमा अधिवेशनका क्रममा भएका सबै क्रियाकलाप सहमतिका आधारमा भइरहेको र विधानअनुसार नै गरिएको दावी गरेका छन् ।
चन्द्रपुर–५ का रविनचन्द्र कोइरालालाई आफूले नचिनेको र कोही चुनावमा सहभागी भए त्यसलाई रोक्न आफूले नसक्ने पनि उनले बताए । मतदान अधिकृत रेग्मीले भने एकपटक पराजित भइसकेको व्यक्ति अर्कोपटक प्रतिनिधि बन्न नपाउने बताए। रविनचन्द्रको विषयमा आफूले पनि जानकारी पाएको बताएका उनले उजुरी परे आफूले त्यसबारे छानबिन गर्ने प्रतिक्रिया दिए ।
‘विवादका विषयमा मैले पनि सुनेको छु, तर त्यसको विषयमा उजुरी परेको छैन,’ उनले भने, ‘उजुरी पर्यो भने छानबिन गरेर विधानको व्यवस्थाअनुसार अगाडि बढ्छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।