शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको केन्द्रीय सभापति बन्न खोजेका यी नेताहरू तितरबितर, उल्टै यस्तो झमेला ! 

कांग्रेसको केन्द्रीय सभापति बन्न खोजेका यी नेताहरू तितरबितर, उल्टै यस्तो झमेला ! 

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 3.2K
    SHARES

  • कांग्रेसको केन्द्रीय सभापति बन्न खोजेका यी नेताहरू तितरबितर, उल्टै यस्तो झमेला ! 

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा स्थापित हुन सातै प्रदेशमा आफू निकटलाई जिम्मेवारी तोक्दै तयारी तीब्र पारेका छन् ।

    तर ३ वर्षदेखि पार्टी नेतृत्वबाट देउवालाई विस्थापित गर्नुपर्ने बताउँदै आएका देउवाइतर समूहका नेताहरुबीच अहिले संवाद पनि हुन छाडेको छ ।

    प्रधानमन्त्री समेत रहेका देउवालाई टक्कर दिन साझा उम्मेदवार बनाउने बताउँदै आएका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला सहितका संस्थापन इतरका नेताहरु यतिबेला तितरबितर भएका छन् ।

    देउवाइतर पक्षका नेताहरुले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि सभापतिबाट देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरूमा विशेष महाधिवेशन, त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको ४ वर्षभित्रै महाधिवेशन हुनुपर्ने वकालत गर्दै आएका थिए ।

    तर पार्टी विधानले दिएको अतिरिक्त १ वर्षको समय मात्र होइन, संवैधानिक सीमाभित्र पनि महाधिवेशन गराउन नेतृत्वलाई दबाब दिन संस्थापनइतर नेताहरु असफल बनेका छन् । माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीहरुले अद्यावधिक वितरण बुझाउनैपर्ने भएपछि कांग्रेसले मंसिर २४ र २५ गते नयाँ नेतृत्व मात्र चयन गर्ने गरी महाधिवेशन गर्न लागेको छ ।

    महाधिवेशन सुरू हुन ३ हप्ता मात्र बाँकी रहँदा साझा उम्मेदवार बनाउन तल्लो तहबाट संस्थापन इतरका नेताहरुमाथि दबाब बढ्दै गएको छ तर नेता तथा कार्यकर्ताको दबाब र आग्रहलाई बेवास्ता गर्दै जिल्ला दौडाहामा निस्केका सभापतिका आकांक्षी वार्तामा बस्नुको साटो आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

    पार्टी सभापति देउवा नेतृत्वको सरकारमा आफूनिकट नेतालाई सहभागी नगराएपछि संस्थापन इतरका नेतासँग रुष्ट बनेका पूर्व महामन्त्री सिंह सबैभन्दा आक्रामक देखिएका छन् । पछिल्ला दिनमा उपत्यका बाहिरको कार्यक्रममा व्यस्त सिंह पार्टी नेता रामचन्द्र पौडेलविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् ।

    नेता सिंहले देउवा र पौडेलबाट अब कांग्रेस नचल्ने बताउँदै आएका छन् । सिंहले १३औं महाधिवेशनमा पौडेल सभापतिको उम्मेदवार बन्दा आफूले सहयोग गरेको बताएका छन् । यसै आधारमा १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्न पौडेलले आफूलाई सहयोग गर्नुपर्ने जिकिर सिंहको रहेको छ ।

    त्यति मात्र होइन, प्रतिनिधिसभा निर्वाचन जित्न नसक्ने नेताले पार्टीलाई चुनाव जिताउन नसक्ने भन्दै सिंहले सभापतिका आकांक्षी पौडेल र शेखर कोइरालालाई नेतृत्वमा स्वीकार नगर्ने संकेत गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पौडेल र शेखर दुबै पराजित बनेका थिए ।

    २०७४ सालमा भएको संसदीय दलको निर्वाचनमा आफू दलको नेताको उम्मेदवार बन्दा महामन्त्री शशांकबाट सहयोग नपाएको गुनासो सिंहले गरेका छन् । शशांकले पनि आफूलाई सभापतिको प्रत्यासीका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

    १३औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित शशांकले जिम्मेवारी अनुसार काम गर्न नसकेको सिंहको आरोप रहेको छ । पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न आफूले सक्ने र आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको उनको दाबी रहेको छ ।

    तर महामन्त्री शशांकले सिंहलाई काठमाडौं बाहिरका नेता तथा कार्यकर्ता चिन्न नसकेको बताएका छन् । उपत्यकाबाहिर अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शशांकले भनेका थिए, ‘प्रकाशमानजीलाई सुन्दा नराम्रो लाग्न सक्छ तर सत्य के हो भने उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निस्केपछि उहाँलाई मान्छेले चिन्दैनन् । उहाँ महामन्त्री हुनुभयो तर कार्यकर्तामाझ आत्मीय बनेको देखिएन ।’

    महामन्त्री शशांकको भनाइको खण्डन गर्दै सिंहले बुधवार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा आफूले तल्लो तहबाट राजनीति र संगठन गरेर आएको बताए । सिंहले आफूले उपसभापति, महामन्त्री लगायतका पदमा बसेर काम गरिसकेकाले अब सभापतिको प्रत्यासी बन्ने बताइरहेका छन् ।

    ‘अब मलाई नै कार्यकर्ताले चिन्दैन भनेर दुष्प्रचार भइरहेको छ,’ उनले भने, ‘१२औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा धेरै मत ल्याएर महामन्त्री जितेको हुँ । मलाई कसैले चिन्दैन भन्नेलाई मेरो इतिहास हेर्न अनुरोध गर्दछु ।’

    देउवालाई सभापतिमा आफूले मात्र हराउन सक्ने दाबी गर्दै आएका शशांकले पार्टी नेता तथा कार्यकर्ताको भावनाअनुसार संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन भने बाधक नबन्ने बताएका छन् । पौडेल १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनिसकेकाले अब १४औं महाधिवेशनमा उम्मेदवार बन्न नहुने शशांकको तर्क रहेको छ ।

    पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेटेर अघि बढ्नुपर्ने बताउँदै कोइरालाले भने, ‘उहाँलाई हामीसँग तानेर एउटै उम्मेदवार बनायौं भने शेरबहादुरजी हार्नुहुन्छ ।’ दाजु शेखर कोइराला पनि सभापतिका लागि लागिरहेको भन्दै शशांकले भने, ‘उहाँलाई सभापति हुन मन छ भने अरुलाई पनि कन्भिन्स गर्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ नत्र मैले उहाँलाई कन्भिन्स गर्नुपर्छ ।’

    शेखरले आफू ४ वर्षदेखि नेता तथा कार्यकर्ताबीचमा रहेको दाबी गर्दै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । गुटको बैठकलाई केही समयअघिसम्म अस्वीकार गर्दै आएका शेखर पौडेल सहितका नेतासँग आक्रामक रहेका थिए ।

    पौडेलले पार्टी नेतृत्व सम्हाल्न नसक्ने र सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने बताउँदै आएका शेखर पछिल्ला दिनमा नेताहरुविरुद्ध बोलेका छैनन् । पौडेलले संस्थापन इतरबाट अन्य आकांक्षीबीच साझा उम्मेदवारमा सहमति भए आफू बाधक नबन्ने बताएका छन् । पार्टी सभापति भएर स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने इच्छा व्यक्त गरेका पौडेलले त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव समेत राखेका छन् ।

    सहमतिका लागि आफू बाधक नबन्ने बताउँदै पौडेलले शशांक, प्रकाशमान र शेखरलाई मिल्न सुझाव दिएका छन् तर प्रकाशमान अहिले संस्थापन इतरको भेलामा समेत सहभागी हुन छाडिसकेका छन् ।

    नेत्री सुजाता कोइराला, पूर्व सहमहामन्त्रीहरु रामशरण महत र अर्जुननरसिंह केसीले पनि संस्थापन इतर पक्षबाट साझा उम्मेदवार निर्माण नभए प्रत्यासी बन्ने बताएका छन् । ‘संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गर्छु,’ केसीले भने, ‘सहमति जुटेन भने म पनि सभापतिको उम्मेदवार बन्नेछु ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend